टिप्‍न नपाउँदा खेर गयो ६० लाख केजी हरियो चियापत्ति
झापा। झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ। झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

चियाको ‘फस्ट फ्लस’ (पहिलो टिपाई) टिप्ने बेलामा लकडान जारी हुँदा यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।

“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उनले भने, “जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नुपरेको छ ।”

साधारणतः प्रतिकेजी २० रूपैयाँका दरले हिसाब गर्दा पनि किसानले १२ करोड रूपैयाँ बराबरको क्षति भएको उनको भनाई छ।

इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको अधिकारीले जानकारी दिए।

उनले भने, “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन।”

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताएका छन्।

“पाकेको बाली भित्र्याउने अवस्था छैन”, कार्कीले भने, “त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।”

अहिलेको मुख्य चुनौति कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनु भएकाले सरकारले किसानलाई पछि राहत दिनुपर्ने उनको माग छ।

झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।

चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुली ‘फस्ट फ्लस’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताउँछन्।

“राम्रो दाममा बिक्री हुने राम्रो चियापत्ति लगभग खेर गएको छ”, उनले भने, “केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिदैँछ।”

जिल्ला प्रशासन कार्यालय झापाको रोहवरमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच भोलि, ७ वैशाखदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताएका छन्।

ती मापदण्ड पूरा भए/नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ।

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्