जुम्लामा थुनुवा र प्रहरीको काेभिड-१९ परीक्षण, रिपोर्ट नेगेटिभ

जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा रहेका थुनुवा र त्यहाँ कार्यरत प्रहरीको काेभिड-१९ परीक्षण गरिएकाे छ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको चिकित्सक टोलीले र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गरेकाे हाे।

तीन थुनुवा र चार प्रहरीको सो जाँच गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

“त्यसैगरी क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिकाका दुईजना र तिला गाउँपालिका दुईजना स्वास्थ्यकर्मीको पनि काेभिड-१९ परीक्षण गरिएकाे थियाे। उनीहरूको पनि रिपोर्ट नेगेटिभ आयो”, उनले भने।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बाहिर ड्युटीमा खटिने प्रहरीको अवस्था के छ भनेर सो जाँच गरिएको जानकारी दिए। “सबैजनाको रिपोर्ट नेगेटिभ देखिएकाे छ। अहिले सबै प्रहरी सुरक्षित नै छौं”, उनले भने।

यसअघि रारालिही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षककाे पनि आरडीटी गरिएको थियो। उनको पनि रिपोर्ट नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्