रिपोर्ट नेगेटिभ आएपछि भारतीय मजदुर महाकाली पुल निर्माणमा

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित् बैजनाथ इञ्जिनियरिङ कलेजमा राखिएका २९ जना भारतीय मजदुर महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा काम थालेका छन् ।

‘लकडाउन’का बेला भारत जान डडेल्धुराबाट महेन्द्रनगर आइपुगेका २६ र बुटवलबाट आएका तीन जना भारतीय मजदुरलाई सशस्त्र प्रहरी बलको निगरानीमा उक्त कलेजमा राखिएको थियो ।

“सबै भारतीय मजदुरको कोराना भाइरस सङ्क्रमणको रिपोर्ट नेगेटिभ आइसकेपछि उहाँहरूको चाहनाअनुसार पुल निर्माणको काममा खटाइएको हो”, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले भने, “मजदुरले नै काममा जान तयार रहेको बताएपछि स्थानीय प्रशासनले त्यहाँ खटाउने निर्णय गरेको हो।”

डडेल्धुराको अस्पतालमा निर्माणाधीन भवनमा काम गर्दै आएका भारतको उत्तरप्रदेशस्थित रामपुरका मजदुर १६ दिन कलेजमा बसेका थिए। “डडेल्धुरामा पनि कामदारकै रूपमा कार्यरत रहेछन्, यहाँ पनि कामदारको आवश्यकता भएकाले पुलमा पठाइयो”, सहायक प्रजिअ उपाध्यायले भने, “पुल निर्माणसित असम्बन्धित अन्य तीन जना भारतीयलाई पनि पुल योजनाले अरु काम लगाउने गरी राखेको छ ।”

उनले कञ्चनपुरमा छरिएर रहेका ४३ इँटाभट्टामा करिब १० हजारको सङ्ख्यामा मजदुर होम क्वारेन्टाइनमा रहेका जानकारी दिए।

“विस्तृत छुट्याउँदै छौँ, करीब आधाजति भारतीय मजदुर होला भन्ने आकलन छ”, उपाध्यायले भने, “यहाँका क्वारेन्टाइनमा भारतीय नागरिक छैनन् ।”

त्यसैगरी यहाँका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नेपाली नागरिकको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित जिल्लाका स्थानीय तहको जिम्मा दिएर घर पठाउने काम भइरहेको छ ।

महाकाली पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी)को जोइन्ट भेञ्चरका इञ्जिनीयर किशोरराज पाण्डेयले प्रशासनबाट प्रक्रिया पुर्‍याएर काममा आएका भारतीय मजदुरले आज बिहानदेखि काम शुरू गरिसकेका बताए। रासस

प्रतिक्रिया दिनुहोस्