ढुवानी भाडा बढेको कारण देखाउँदै खाद्यान्नको मूल्य बढाइयो (मूल्य सूचीसहित)

काठमाडौं। ढुवानी भाडा बढेको कारण देखाउँदै थोक तथा खुद्रा व्यापारीले खाद्यान्न र तरकारीलगायतका वस्तुहरूको आफूखुशी मूल्य बढाउन थालेका छन्।

ट्रक चालक र सहचालक छुट्टीमा बसेका कारण ढुवानीका लागि यातायातको साधन नपाउँदा बढी भाडा तिरेर ढुवानी गर्नुपरेकाले सामानको मूल्य बढेको दाबी विक्रेताहरूको छ।

खुद्रा व्यापार संघले थोक व्यापारीहरूले बजारमा खाद्यान्नको मूल्य बढाएको आरोप लगाएका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार थोक व्यापारीहरूले बढी मूल्य लिएर सामान दिने र बिल भने पुरानै मूल्य बराबरको दिने गरेको बताए।

तर, नेपाल किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ भने त्यसलाई मान्न तयार भएनन्। उनले भने, “बढेको मूल्यको बिल नदिने भन्ने कुरा नै हुँदैन। यदि कसैले मूल्य बढाएर बिल दिँदैन भने त्यस्ता व्यापारीसँग सामान नकिन्न अनुरोध छ।”

मूल्य बढाएर बिल नदिँदा संकटको समयमा कालोबजारी गरेको प्रमाणित हुने भएकाले त्यस्ता व्यापारीलाई कारबाही गर्न सहयोग गर्ने उनले बताए।

कुन वस्तुमा कति बढ्यो मूल्य?

खुद्रा व्यापार संघले दिएको जनकारीअनुसार अहिले दैनिक उपभोग हुने प्रत्येक सामानको मूल्य बढेको छ।

सबैजसो सामानमा प्रतिकेजी सामानमा प्रतिकेजी १० देखि १५ रूपैयाँसम्म मूल्यवृद्धि भएको संघले बताएको छ।

संघका अनुसार चामलमा प्रतिबोरा ७५ देखि १०० रूपैयाँसम्म मूल्य बढेको छ। यसबाहेक दाल, नुन, तेल लगायतका वस्तुमा १० देखि १५ रूपैयाँले मूल्य बढेको छ।

के भन्छ सरकार ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले खाद्यान्नको मूल्य बढेको सूचना आएपछि बजार अनुगमनलाई तीव्रता दिएको बताए।

उनले विभागले मूल्य बढ्नुको कारण समेत अध्ययन गरिरहेको बताउँदै भने, “अनुगमनका क्रममा आफूखुशी मूल्य बढाएको पाइए कारबाही गर्छौं।”

विभागले बजारमा मूल्य बढेको जानकारी पाउने बित्तिकै बारामा रहेका उद्योगबाट अध्ययन शुरू गरेको सुवेदीले बताए।

“उद्योगबाट मूल्य बढेर आएको हुन सक्ने भएकाले उद्योगबाट आएको मूल्य सूची अध्ययन गर्न लागेका छौं”, उनले भने।

विभागले ४ वैशाखमा उपत्यकाका चारवटा खाद्यान्न स्टोरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा मूल्य सूची नराखेको पाइएपछि इमाडोलमा रहेको दीपशिखा स्टोरलाई ५० हजार रूपैयाँ जरिवाना गरेको थियो।

यस्तै, लकडाउनमा मूल्य बढाएको पाइएपछि महांकालमा रहेको डेली ग्रोसरीलाई विभागले दुई लाख रूपैयाँ जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्