उदयपुरमा भेटिएका १२ जना काेभिड-१९ संक्रमित सप्तरीमा बसेकाे खुलेपछि उनीहरू बसेकाे क्षेत्र सिल
सप्तरी। छिमेकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना भाइरस संक्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरू बसेकाे क्षेत्र आज सिल गरिएको छ।

कञ्चनरुप नगरपालिका-१, वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए।

सप्तकोशी-१ स्थित मस्जिदमा १५ र १६ फागुनमा संक्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको वडा सदस्य जाहिर हुसेनले बताए। बाेदे बर्साइन् नगरपालिका-५, जाँजरमा ३ देखि ५ फागुनसम्म एक लाख बढीको सहभागितामा धार्मिक सम्मेलन ‘इज्तिमा’ भएको थियो। इज्तिमा पछि ठूलो संख्यामा जमाती भारतको सभामा भेला भएर धर्म प्रचारका लागि विभिन्न मस्जिदमा गएकाे बताइएको छ।

पछिल्लोपटक कञ्चनरूप-१ को वैरवास्थित मस्जिद हुँदै सप्तकोशी-१ फत्तेपुरस्थित मस्जिदमा बसेका जमाती नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएकाे मुस्लिम अगुवाहरू बताउँछन्।  २५ फागुनमा उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई मस्जिद पुगेका उनीहरू त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको बताइएको छ।

कोरोना भाइरस पुष्टि भएका १२ जना वैरवा र फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि दुवै ठाउँका स्थानीयवासीको आज साँझ आरडीटी परीक्षण शुरू गरिएको छ।

सप्तकोशी-१ का साथै मस्जिद रहेको वडा नम्बर २ र ४ को मस्जिदमा पनि जमाती गएको हुन सक्ने अनुमानमा सो वडासमेत आवतजावत बन्द गरिएको छ। वडा नम्बर २ र ४ मा भाेलि, ७ वैशाखमा आरडीटीबाट परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

मस्जिदमा नमाज पढ्न जाने, मदरसामा पढाउने मौलवी, भान्सेसहित संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई पहिलो चरणमा परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

आरडीटी परीक्षणका लागि वडा नम्बर १ का ७०, वडा नम्बर २ का २०० र वडा नम्बर ३ का ८३ जनालाई छनोट गरिएको सप्तकोशी नगरपालिका-२ का सदस्य जाहिर हुसेनले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्