भेरी अस्पतालमा कोभिड-१९ परीक्षण शुरू

बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरू गरिएको छ।

रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण हिजाे, ६ वैशाखमा जडान भएपछि आजबाट कोभिड-१९ परीक्षण शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। उनका अनुसार, कोरोना भाइरस संक्रमणको परीक्षण हिजाे साँझबाटै शुरू गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ।

आरटीपीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौंबाट ‘रिएजेन्ट केमिकल’ लिएर ५ वैशाखमा नेपालगञ्ज आएको थियो।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौंबाट मगाइएको हो। बाँके र बर्दियाका जनताको कोरोना संक्रमण परीक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो।

प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ। सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाइ छ।

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शंकास्पद बिरामीमध्ये हिजाे थप १४ जनाको कोभिड-१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। यससँगै बाँकेमा ६ वैशाखसम्म भएका सबै परीक्षणमा ४९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको ३ वैशाखमा सङ्कलन गरिएको ‘थ्रोट स्वाब’ को नमूनामध्ये ६ वैशाख बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, हिजाे थप ८ जनाको नमूना सङ्कलन गरिएको छ।

हालसम्म बाँकेमा पीसीआर विधिबाट १०० जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ।

आरडीटी विधिबाट ४०५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

बाँकेमा हालसम्म ५०५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ, जसमध्ये ४९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ। रासस

प्रतिक्रिया दिनुहोस्