ज्याला नपाएका श्रमिक भन्छन्– ‘रित्तो हात घर फर्कन सकिएन’
काठमाडाैं। आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने गएका छैनन्।

उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उनी समस्यै नभएर काठमाडौं बसेकाे भने होइन। काम गरिरहेको कम्पनीले झण्डै ६ महीना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा बस्दै आएका छन्।

त्यही छाप्रोमा उनी अरू चारजना साथीसँगै बस्दै आएका हुन्। पाँचैजनाको समस्या एउटै छ। घरमा रित्तो हात जान नसकेकाले निर्माण व्यवसायीले पैसा दिने आशा गरेर बसिरहेको उनले बताए।

उनी गत माघदेखि यहाँ खोला किनारामा पर्खाल लगाउने काम गर्दै आएका छन्। ‘लकडाउन’ पहिले नै कतिपय साथी घर गए पनि उनी अवस्था सामान्य भएपछि काम गर्न पाइएला भन्दै आशा गर्दै बसे। लकडाउनपछि भने निर्माण व्यवसायीले बाँकी हिसाब गर्छु भने पनि नगरेको उनले बताए। उनले भने, “६ महीना काम गरेको पैसा होस् भनेर रित्तो हात फर्कन सकिनँ।”

उनी विगत दुई दशकदेखि काठमाडौंमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। यो लकडाउन शुरू भएपछि भने काम गर्न नपाएको बुढाले बताए।

दिनभर उसै बस्दा कमाइँ नहुने मात्रै होइन दिन काट्न पनि गाह्रो भएको उनले बताए। झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उनकाे भनाइ छ। “खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौँ”, उनले भने।

कैलालीका जय सारुमगर पनि बुढासँगै एउटै छाप्रोमा बस्दै आएका छन्। विदेश जानका लागि भन्दै ६ महीना पहिले काठमाडौं आएका उनी त्यतिबेलादेखि नै सडक निर्माणको काममा लागे।

काम गर्दै प्रक्रिया अघि बढाउने सोचेका उनी विदेश त जान पाएनन् नै स्वदेशमै समेत गरिरहेको कामलाई निरन्तरता दिन सकेका छैनन्।

अहिले आफूसँगै काम गरिरहेका १९ जना घर पुगिसकेको उनले बताए। हिसाब बाँकी भएकै कारण उनले भने घर जाने योजना बनाएनन्।

“साहुले बस्दै जानु केही समयमा लकडाउन पनि खुल्छ र काम हुन्छ भनेको थियो”, उनले भने, “अहिले न काम गर्न पाइयो न त बाँकी हिसाब नै पाइएको छ।”

“उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन।”

वडा कार्यालयले दिएको राहतका खानेकुरा एकपटक पाएको भए पनि अहिले सकिनै लागेको उनकाे भनाइ छ।

राहतमा आएको चामल र दाल खाएरै उनीहरू बस्दै आएका छन्। साथमा पैसा नहुँदा तरकारी किनेर समेत खान नसकिएको उनकाे भनाइ छ।

सँगै काम गर्ने साथी घर जान भन्दै पोको कस्दा जयलाई पनि जाउँजाउँ भन्ने नलागेको होइन तर, यहाँ काम गरेको झण्डै दुई महीनाको ज्याला पाउन बाँकी भएकाले यतै बसेको उनी बताउँछन्।

पहिले समय–समयमा पैसा घर पठाउने गरे पनि लकडाउन पहिलेकै दुई महीनाको ज्याला नलिएकाले घर पठाउन नसकेको उनकाे भनाइ छ। उनले भने, “उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन।”

लकडाउनको एक महीना पुग्नै लाग्दा काठमाडौं उपत्यकामा मजदुरी गरेर जीविकोपार्जन गरेकाहरू सबैभन्दा मारमा परेका छन्। कतिपयले विभिन्न कारणले राहत पाएका छैनन् भने राहत पाएकाले पनि एकपटक दिइएको रासन सकिएको वा सकिनै लागेकाले फेरि पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले लकडाउन थप गरिरहँदा उनीहरूमध्ये धेरै घर गइसकेका छन् भने  कतिपयले विभिन्न समस्याका कारण उपत्यका छाड्न सकेका छैनन्। असंगठित क्षेत्रमा काम गर्ने धेरै मजदुरले ‘लकडाउन’ का कारण रोजगारी गुमाएका छन्। विगतमा काम गरेको ज्यालासमेत नपाउँदा हिँडेरसमेत घर जान नपाएको उनीहरू गुनासो गर्छन्।

नरेफाँटमै व्यक्तिगत जग्गामा छाप्रो बनाएर बसिरहेका राजेशकुमार यादव घर बनाउने ठाउँमा भारी बोक्दै आएका थिए। लकडाउनयता भने उनले काम गर्न पनि पाएका छैनन्। कमाइ पनि छैन।

काठमाडौं महानगरपालिका वडा नं ३२ बाट गत साता १० किलोग्राम चामल राहत पाएका थिए। उनीसँगै बस्दै आएका सातजनाको समूहले दिनमा दुईपटक खाँदा तीन दिन पहिले नै चामल सकिएको उनले बताए। उनले भने, “अहिले नजिकैका घरमा मान्छेले दिएर खाइरहेका छौँ।”

काठमाडौं उपत्यकामा विगतमा सडक, पुललगायत पूर्वाधार निर्माण भएका कतिपय स्थलमा अहिले पनि मजदुर भेटिन्छन्। सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माण शुरू गरे पनि अधिकांश स्थानमा ठप्प छ।

काम गर्न नपाएका उनीहरू दिनभर गफ गरेरै दिन बिताउने गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले निर्माणस्थलमा रहेका मजदुरलाई खाद्यान्नको व्यवस्थापन गरिरहेको बताए पनि मजदुरले भने दिइएको खानेकुरा पर्याप्त नभएको बताउँदै आएका छन्। - सञ्चिता घिमिरे/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्