चीनबाट ३४० टन स्वास्थ्य सामग्री ल्याउन आज पैसा पठाउँदै सेना

काठमाडौं। नेपाली सेनाले चीनबाट ३४० टन औषधि खरीद गर्ने सम्झौता गरेको छ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले हिजो, ७ वैशाखमा जीटूजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरीद गर्ने सम्झौता गरेर पठाइएको बताए।

ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरीद गर्ने सम्झौता रद्द गरेको १८ दिनपछि चीनबाट औषधिसहितका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको हो।

“हामीले सम्झौतामा हस्ताक्षर गरेर पठाइसकेका छौँ। चिनियाँ पक्षले पनि सम्झौतामा हस्ताक्षर गर्छ”,पाण्डेले भने, “त्यसपछि औषधिसहितका स्वास्थ्य सामग्री ल्याउने क्रम शुरू हुन्छ।”

सम्झौता गरिएका स्वास्थ्य सामग्रीको रकम आज पठाउने तयारी छ।

चिनियाँ पक्षले पैसा पठाएको सात दिनभित्रमा स्वास्थ्य सामग्री पठाउन शुरू गर्ने प्रतिबद्धता जनाएको छ।

“पहिलो चरणमा अत्यावश्यक सामानहरू ल्याइने छ”, प्रवक्ता पाण्डेले भने, “चरणबद्ध रूपमा आवश्यक सबै सामान ल्याउने विषयमा कुरा भइसकेको छ। त्यसै अनुसारले सामान आउँछ।”

३४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले दुई साताभित्र विभिन्न चरणमा ल्याउने तयारी भइरहेको छ।

चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागिएको हो। छाउनीमा स्थापना गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र अन्तर्गतको लजिस्टिक क्लस्टरले बनाएको स्वास्थ्य सामग्रीको विवरण अनुसार नेपाली सेनाले चीनसँग खरीद गर्ने सम्झौता गरेको हो।

प्रतिक्रिया दिनुहोस्