पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल
पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्यानिटाइजर टनेल जडान गरिएको छ।

कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि अस्पतालको पूर्वपट्टिको प्रवेशद्वारमा आज स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन गण्डकीले तयार गरेको सो स्यानिटाइजर टनेल प्रतिनिधि सभा सांसद् एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापालाई हस्तान्तरण गरे।

सो टनेलले स्वचालित रूपमा काम गर्छ। मान्छे टनेलमा प्रवेश गर्नेबित्तिकै स्वचालितरूपमा सेनिटाइजर स्प्रे हुने गर्छ।

एक व्यक्तिलाई स्प्रे गर्दा करीब ६० एमएल स्यानिटाइजर खर्च हुने र टनेलमा रहेको २०० लिटर ट्याङकले तीन हजार ४०० जनालाई स्प्रे गर्न पुग्ने एशोसिएसन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले जानकारी दिए।

टनेलले होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने बताउँदै उनले अस्पतालमा भीडभाड हुने भएकाले अस्पतालमा जडान गरिएको बताए।

टनेल निर्माण संयोजक एवं प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनका सचिव सुरेश तिमिल्सिनाले राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गाना, इन्जिनियरहरू सुलव तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, ध्रुव भट्टराई र विप्लप पोखरेलले चार दिनमा दुईवटा टनेल तयार गरेको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्