चिनियाँ क्लबले थाल्यो विश्वकै ठूलो रंगशालाको निर्माण

बेइजिङ। चीनमा कोरोना भाइरसको संक्रमण विस्तारै साम्य हुँदै जाँदा लकडाउनको कडाइ पनि खोल्दै लगिएको छ। यही मेसोमा एक चिनियाँ क्लब विश्‍वकै ठूलो फुटबल रंगशाला निर्माणमा जुटेको छ।

गोन्जाओ एभरग्रान्ड नामक क्लबले एक लाख सिट क्षमताको रमणीय रंगशाला निर्माण अगाडि बढाएको हो, जुन संसारकै ठूलो रंगशाला हुनेछ।

कमल फूलको आकारमा डिजाइन गरिएको रंगशाला निर्माण सन् २०२२ मा सम्पन्‍न गर्ने लक्ष्य छ। एक अर्ब ७० करोड डलर (१२ अर्ब युआन) लागतमा उक्त रंगशाला तयार हुने अनुमान छ।

सीएनएनका अनुसार १६ अप्रिलदेखि काम शुरु भइसकेको छ। सिड्नीको ओपेरा हाउस र दुबईको बुर्ज खलिफाजस्तै विश्‍वव्यापी पहिचान बन्‍ने गरी उक्त रंगशाला निर्माण गर्न लागिएको रियलस्टेट कम्पनी एभरग्रान्डका अध्यक्ष सिआ हाइजुन बताउँछन्। भन्छन्, ‘विश्‍वव्यापी बन्दै गएको चिनियाँ फुटबलको सिम्बोल हुनेछ यो रंगशाला।’

गोन्जाओ एभरग्रान्डले सन् २०११ यता ६० हजार सिट क्षमताको तियान्ह स्टेडियममा खेल्दै आएको छ। बार्सिलोनाको क्याम्प नोउ स्टेडियम हालसम्म संसारको ठूलो मानिन्छ, जसको सिट क्षमता ९९ हजार तीन सय ५४ छ।

चिनियाँ रंगशालाको डिजाइन सांघाईस्थित अमेरिकी डिजाइनर हसन सइदले गरेका हुन्। र, यसको प्रारम्भीक अवधारणा एभरग्रान्ड समूहका अध्यक्ष सू जिआयिनको हो। गोन्जाओलाई फूलहरूको शहर भनिने भएकाले कमलको फूल आकारमा रंगशालाको डिजाइन गरिएको हो।

रंगशालाभित्र १६ वटा भीभीआईपी कक्ष हुनेछन्। यस्तै, एक सय ५२ वटा भीआईपी कक्ष, फिफा, एथ्लेट्स, मिडिया क्षेत्रका साथमा एउटा प्रेस रुम हुनेछ

एभरग्रान्डका अध्यक्ष सिआका अनुसार उक्त क्लबले अन्य तीनदेखि पाँच वटासम्म रंगशाला निर्माणको योजना छ। ती सबैको क्षमता ८० हजारदेखि एक लाख सिटसम्म हुनेछ।

कुनै दिन विश्‍वकप फुटबल आयोजना गर्ने चीनको महत्वाकांक्षी सोच पूरा गर्न निर्माणाधीन रंगशाला कोशेढुंगा सावित हुने विश्‍वास चिनियाँ अधिकारीहरूको देखिन्छ।

गोन्जाओ एभरग्रान्ड एशियाकै सफल फुटबल क्लब मानिन्छ। यस क्लबले आठ पटक चाइनिज सुपर लिग र दुई पटक एशियन च्याम्पियन्स लिग जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्