कांग्रेस नेताहरूले भने- ‘नारायणी अस्पतालमा रहेका काेभिड-१९ संक्रमितलाई गण्डक अस्पताल सार’

काठमाडौं। कांग्रेसका नेताहरूले नारायणी अस्पतालको आकस्मिक, ओपीडी, प्रसूतिलगायतका सेवा यथाशीघ्र सञ्चालन गर्न माग गरेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरासिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य अनिल रुंगाटालगायतका १० जनाले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

विज्ञप्तिमार्फत् नारायणी अस्पतालमा रहेका कोभिड–१९ का चारजना संक्रमितलाई गण्डक अस्पतालमा सारेर नारायणी अस्पतालको सेवा सञ्चालन गर्न माग गरिएको हो।

कांग्रेस नेताहरूले जारी गरेको विज्ञप्तिमा वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाउने सम्झौता गरिसकेकाले नारायणीमा रहेका कोभिड–१९ संक्रमितहरूलाई गण्डक अस्पतालमा सार्नुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा वीरगञ्जबाटै पीसीआरको स्वाब परीक्षण शुरू गर्नुपर्ने, राहत वितरणलाई वैज्ञानिक र प्रभावकारी बनाउन सर्वदलीय समितिमार्फत् वितरणको व्यवस्था मिलाउने, कटानी, पिसानी, बीउबिजन ढुवानीलाई आंशिकरूपमा खुला गर्नुपर्नेलगायतमा माग गरिएको छ।

यस्तै साना, मझौला, उद्योगी, व्यापारी, किसानको लकडाउन अवधिभरिको ब्याज मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेकालाई सरकारी संयन्त्रले जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने, प्रतिनिधि सभा र प्रदेश सभाअन्तर्गत रहेको संसदीय विकास कोषको सम्पूर्ण रकम कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणमा खर्च गर्नुपर्ने माग गरिएको छ।

कांग्रेस नेताहरूले नागरिकलाई भोकमरीबाट जोगाउन खाद्यान्नको आपूर्ति तथा विपन्न वर्गलाई राहतको व्यवस्था सरकारले मिलाउनुपर्ने, फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्यप्रति उच्च संवेदनशीलता देखाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

साथै उनीहरूले विषम परिस्थितिमा गठन गरिएको सुकुम्वासी आयोगको प्रक्रियाप्रति घोर भत्सर्नासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्