नेपाल टेलिकमकाे जिरो ब्यालेन्स प्याकेज, आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सकिने

काठमाडाैं। नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन्।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा रहेकाे छ। प्याकेजको अवधि भने सात दिनको हुनेछ।

याे प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ। सो प्याकेज प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत् जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत् पठाएर प्याकेज लिन सकिनेछ। त्यस्तै सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइनेछ।

उक्त प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्