कोभिड-१९ संकट : कच्चा तेलको मूल्यमा तीव्र गिरावट

लन्डन। अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा तल झरेको छ अर्थात् नकारात्मक भएको छ।

कच्चा तेलको मागमा गिरावट र भण्डारणमा कमीका कारण यस्तो अवस्था आएको हो। यसको अर्थ हो, तेल उत्पादक मुलुकहरू अब खरिदकर्ता मुलुकसँग आफैंले पैसा दिएर आफ्नो तेल खरिद गर्न आग्रह गर्ने अवस्थामा पुगेका छन्।

बीबीसीका अनुसार यदि तेल बिक्री भएन भने भण्डारणको समस्या पनि बढ्ने त्रासमा छन्, उत्पादक मुलुकहरू।

कोभिड-१९ बाट बच्‍न लागू गरिएको लकडाउनका कारण संसारभरका मानिस घरमै खुम्चिएका छन्। इन्धनको माग अत्यधिक गिरावट आउनुको कारण पनि त्यही हो।

किनकि, संसारभर सवारी साधन सञ्‍चालन ठप्पप्राय छ।

भण्डारणको समस्यालाई मध्यनजर गर्दै कतिपय तेल फर्महरूले ट्यांकर भाडामा लिन थालेका छन्। उत्पादित कच्चा तेल ट्यांकरमै भण्डारण गर्ने उनीहरूको योजना छ। तर, त्यसको असर अमेरिकामा तेलको मूल्यमा पर्‍यो। र, शून्यभन्दा तल झर्‍यो।

अमेरिकी इन्धनको बेन्चमार्क मानिने वेस्ट टेक्सस इनटरमिडिएटको मूल्य माइनस ३७ दशमलव ६३ डलर प्रतिब्यारेल पुगेको छ।

अमेरिकी क्रुड आयलमा सोमबार भएको गिरावटको असर संसारभरको तेल बजारमा परेको छ। इन्धनको अन्तर्राष्‍ट्रिय बेन्चमार्क ब्रेन्टको कच्चा तेलको मूल्यमा पनि आठ दशमलव नौ प्रतिशतको गिरावट आएर प्रतिब्यारेल २६ डलरमा झरेको छ।

अप्रिल शुरुमा तेल उत्पादक मुलुकहरूको संगठन ओपेकले इन्धन उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए। तर, त्यसबाट पनि समस्याले निकास पाएन।

प्रतिक्रिया दिनुहोस्