आर्सनलका प्रशिक्षक तथा खेलाडी तलब कटौती गर्न सहमत
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलको सिनियर टीमका खेलाडी र प्रशिक्षक मिकेल आर्टेटा तलब कटौती गर्न सहमत भएका छन्।

कोभिड-१९ महामारीका कारण परेको क्लबको वित्तीय संकटलाई सहयोग गर्न खेलाडी तथा प्रशिक्षक तलब कटौती कटौती गर्न सहमत भएका हुन्।

लण्डन क्लबका पहिलो टीमका खेलाडी तथा प्रशिक्षक मिकेल अर्टेटा वित्तीय संकटबाट क्लबलाई पार लगाउन वार्षिक १२ दशमलव ५ प्रतिशत तलब कटौतीमा सहमत बनेका छन्।

आर्सनलले खेलाडी तथा प्रशिक्षक वार्षिक आम्दानीमा १२.५ प्रतिशत रकम कटौती गर्न खेलाडीहरू सहमत भएको जनाएको छ।

क्लबले प्रशिक्षक टीम पनि तलब कटौतीका लागि सहमत भएको जनाएको छ।

आर्सनलले मैदानमा तय गरेका लक्ष्य हासिल भएको अवस्थामा कटौतीका लागि सहमत भएको रकम फिर्ता हुने जनाइएको छ।

‘‘हामीले तोकेका योजनाहरू पूरा गर्न सक्यौं भने क्लब उक्त रकम फिर्ता गर्न सक्षम हुनेछ। त्यसमा खेलाडीको प्रत्यक्ष संलग्नता हुनेछ। ती लक्ष्य हासिल भए हामी वित्तीय रूपमा पनि बलियो हुनेछौं,’’ आर्सनलले भनेको छ, ‘‘सम्झैाता जारी सिजन(२०१९/२०) अन्त्य हुने र हामीले पूर्ण रूपमा ब्रोडकास्टिङ रकम प्राप्त गर्ने परिकल्पनामा यो सम्झौता गरेका छौं। त्यसो भए क्लबले भोगेको वित्तीय जोखिममा कमी आउनेछ। यस संकटको घडीमा खेलाडी र अफिसियलले गरेको सहकार्यबाट क्लब परिवार एकढिक्का भएको महशुस गरेका छौं। र, हामी गौरवान्वित छौं।’’

यसअघि वाटफोर्ड, साउथह्याम्टन र वेस्ट ह्यामका खेलाडी तथा प्रशिक्षक पनि तलब कटौतीमा सहमत भएका थिए।

त्यस्तै सेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस विल्डर र कार्यकारी प्रमुख स्टेफन बेटिस पनि आंशिक रकम कटौती गर्न सहमत भएका थिए।

प्रिमियर लिगले पनि ३० प्रतिशत रकम कटौती गर्न प्रस्ताव गरेको थियो।

तर, प्रस्तावलाई प्रोफेसनल फुटबलर्स एसोसिएसनले रकम कटौती गर्दा नेशनल हेल्थ सर्भिसमा जाने करमा असर पुग्ने अडान राख्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्