लकडाउनमा बालबालिकाको खोप नियमित गर्न स्वास्थ्य विभागले तय गर्यो पाँच मार्गनिर्देशन

काठमाडौं।स्वास्थ्य सेवा विभागले पाँच वटा मार्गनिर्देशन तयार पारेर बालबालिकाको खोप नियमित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण विभिन्न संक्रामक रोगबाट बच्नका लागि बालबालिकालाई लगाइने खोप अहिले देशैभर प्रभावित भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमको समयमा नियमित खोप सेवा संचालन गर्दा कम्तिमा ३ देखि ६ फिट दूरी कायम गरी पालैपालो खोप लगाउने र त्यसका लागि जनप्रतिनिधिलाई समेत सहयोग माग्‍ने भनिएको छ।

त्यस्तै खोप सेवा लिन आएका बालबालिकाहरूमा कोभिड-१९ का शंकास्पद लक्षणहरू भए नभएको यकिन गरेर खोप लगाउने, खोप दिने स्वास्थ्यकर्मीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको उपाय अपनाउन पनि विभागको मार्गनिर्देशनमा उल्लेख छ।

१५ महीनाभित्रका लक्षित सबै बालबालिकाको सहभागिता सुनिश्चित गर्न पनि भनिएको छ।

विभागले ७७ वटै स्वास्थ्य कार्यालय, सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पत्रमार्फत् खोप सेवा संचालन गर्न स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गर्न भनेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खोप महाशाखाका प्रमुख डा.झलक गौतमले अहिले कोभिड-१९ को संक्रमणबाट बच्न देशैभर दादुरा–रुबेला रोगविरुद्ध बालबालिकालाई लगाउने खोप अभियान मात्रै औपचारिकरूपमा रोकिएको बताए।

उनले नियमित खोप सेवा प्रभावित नगर्न मन्त्रालय र महाशाखाले पनि देशैभर निर्देशन दिइसकेको भन्दै उक्त सेवा रोक्न नमिल्ने प्रष्ट पारे।

महाशाखाका अनुसार प्रत्येक वर्ष जन्मेदेखि १५ महीनाभित्रका करीब ६ लाख २० हजार बालबालिकालाई निःशुल्क खोप लगाउने गरिएको छ।

भ्यागुते रोग, लहरे खोकी, टिटानस, हेपाटाइटिस बी, मेनिन्जाइटिस, निमोनिया, पोलियो लगायत ११ रोगसँग लड्न १५ महीनामुनिका बालबालिकालाई विभिन्न समयमा १२ वटा खोप लगाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्