थप दुई महिना हुने छैन खाद्यान्न अभाव

काठमाडौं। कोभिड-१९ सँग जुध्‍न सरकारले लागू गरेको लकडाउन २८ औं दिनमा आइपुग्यो । खाद्यान्‍न नभएर मात्र होइन किन्‍ने पैसा पनि नभएर पैदलै गाउँ हिँडेका बाहेक मानिस घरभित्रै छन् । लकडाउन लम्बिन्छ, लम्बिँदैन अहिलेसम्म निश्‍चित भइसकेको छैन । लम्बिहाल्यो भने देशमा कति खाद्यान्‍न होला ?

व्यवसायी र सरकारी अधिकारीहरू लकडाउन लम्बिए पनि कम्तिमा दुई महिनालाई पुग्‍ने खाद्यान्‍न मौज्दात भएको बताउँछन् । भारतबाट नियमित आयात भइरहे र ढुवानी नरोकिए त्यसभन्दा लामो समयसम्म पनि खाद्यान्‍न अभाव नहुने उनीहरू बताउँछन् । यस्तो छ खाद्यान्‍न भण्डारणको अवस्था :

चार महिनालाई पुग्‍ने चामल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अहिले बजारमा एक लाख दुई हजार मेट्रिक टन चामल बजारमा छ। यो परिमाणको चामल निजी क्षेत्रका व्यापारीले सञ्‍चालन गर्दै आएका गोदाममा रहेको मन्त्रालयले जानकारी दिएको छ।

त्यसबाहेक ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’सँग २२ हजार क्‍विन्टल चामल मौज्दात रहेको कम्पनीका प्रमखु रनबहादुर बुढाथोकीले बताए।

त्यसैगरी, देशका विभिन्‍न चामल मिलहरूमा पनि प्रशस्त चामल मौज्दात छ। तर, नेपालका चामल मिलमा कति परिमाणमा चामल मौज्दात छ भन्‍ने तथ्यांक आपूर्ति मन्त्रालयले संकलन गरिसकेको छैन ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बजारमा तयारी अवस्थामा रहेको भन्दा बढी चामल गोदाममा रहेको जानकारी दिए।

बजारमा रहेको चामलले झण्डै दुई महिना र मिलमा रहेको चामलले कम्तिमा थप चार महिनासम्मको माग धान्‍न सक्ने उनको भनाइ छ । यस्तै, भारतबाट समेत चामल आयात हुँदै आएको छ। तर, नेपालमा दैनिक कति चामल खपत हुँदै आएको छ भन्‍ने तथ्यांक भने मन्त्रालयसँग नरहेको उनले बताए।

यसका साथै, गहुँ, फापर, मकै र कोदो पनि प्रशस्त मात्रामा उत्पादन हुने भएकाले यसको पनि मौज्दात रहेको मन्त्रालयले जानकारी दिएको छ।

दुई महिनालाई पुग्छ दाल, चिनी, आँटा

चामलबाहेक दाल, तेल, चिनी, आँटालगायतका खाद्यान्‍न कम्तिमा दुई महिना पुग्‍नेगरी मौज्दात रहेको व्यवसायीहरू बताउँछन् ।

खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्‍ठले थोक व्यापारीसँगको मौज्दातले एकदेखि डेढ महिनालाई पुग्‍ने र खुद्रा व्यापारीसँगको मौज्दातले १५ देखि २० दिनलाई पुग्‍ने बताए।

उनले भारतबाट हुने आयात निरन्तर भए त्यसपछि पनि खाद्यान्‍नमा केही समस्या नआउने बताउँदै भने, “भोलिका दिनमा केही कारणले आयात रोकियो भने समस्या हुन्छ।”

यस्तै, खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्‍ठले केही व्यापारीकहाँ मौज्दात खाद्यान्‍न भने सकिएको बताए । “तैपनि खुद्रा व्यापारीसँग भएको मौज्दातले झण्डै एक महिनाको माग पुरा गर्न सक्छ,” श्रेष्‍ठले भने ।

व्यापारीको यस्तो दाबी भए पनि खुद्रा व्यापारी, थोक व्यापारी र आपूर्ति मन्त्रालयले नेपालको दैनिक खपत कति हो भन्‍ने तथ्यांक राखेका छैनन् ।

१० महिनालाई पुग्छ नुन

सरकारबाट नुनको कारोबार गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल एक लाख आठ हजार मेट्रिक टन नुन मौज्दात छ।

यो नुनले आगामी १० महिनाको नेपालको माग धान्‍ने कर्पोशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्‍ठले बताइन्। भनिन्, “कर्पोरेशनसँग भएको मौज्दातले १० महिनासम्मलाई पुग्छ। त्यसभन्दा पछिलाई चाहिने नुन सहजै आयात गर्न सकिन्छ।”

त्यस्तै, कम्पनीसँग अहिले १० हजार मेट्रिक टन चिनी मौज्दात छ। कर्पोरेशनको मुख्य काम नुन बेच्ने मात्र भए पनि उसले संकटको समयका लागि भनेर चिनी समेत भण्डारण गरेको छ । त्यसो त नेपालमा प्रशस्त मात्रामा चिनी उत्पादन हुँदै आएकाले मिलहरूमा भण्डारण ठूलो मात्रामा भएको हुँदा कुनै समस्या नआउने श्रेष्‍ठले बताइन्।

कर्पोरशनले अहिले दाल, चामल र तेलको समेत व्यापारसमेत सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्