अध्यादेशबारे राजपा र समाजवादी पार्टी आन्तरिक छलफलमा

काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश हिजो जारी भएपछि राष्‍ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलका नेताहरूबीच छलफल शुरु भएको छ ।

अध्यादेशको समीक्षा गर्न आज राजपा अध्यक्ष मण्डलका नेताहरूबीच भिडियो कन्फ्रेन्समार्फत छलफल भइरहेको राजपाका महासचिव केशव झाले देखापढीलाई जानकारी दिए ।

उनले भने, “कोरोनाको महामारीविरुद्ध एकजुट भई लड्नुपर्ने बेला अध्यादेश जारी हुनु अलोकतान्त्रिक गतिविधि हो, यसैको समीक्षा गर्न अध्यक्षमण्डलका नेताहरू छलफलमा हुनुहन्छ ।”

छलफलपछि राजपाले वक्तव्य जारी गर्ने तयारी भएको महासचिव झाले बताए । अध्यादेशले तत्काल केही फरक नपर्ने भए पनि दीर्घकालीन रूपमा सबै दललाई असर गर्ने उनले बताए ।

त्यस्तै, समाजवादी पार्टीको बैठक बस्‍नेबारे नेताहरूबीच छलफल शुरु भएको छ । अध्यादेशबारे फैलिएको हल्लाबारे पार्टीले जवाफ दिनेगरी छलफल भइरहेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्‍ठले बताए ।

उनले देखापढीलाई भने, “आजै दुवै अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटघाट हुनसक्छ, बैठक बस्‍ने स्थान र समय तय भइसकेको छैन ।”

पार्टीभित्र केही असन्तुष्‍टि रहे पनि अहिलेको अवस्थामा कुनै समस्या नरहेको उनले स्पष्‍ट पारे ।

प्रतिक्रिया दिनुहोस्