लकडाउनमा खसी अभाव भन्दै व्यवसायीले गरे मनाेमानी
भक्तपुर। सूर्यविनायक नगरपालिका-२ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो एक हजार ६०० रूपैयाँमा बिक्री गरेको छ।

खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्यमा प्रतिकिलो ४०० रूपैयाँले वृद्धि गरेका छन्।

लकडाउनअघिसम्म प्रतिकिलो एक हजार २०० रूपैयाँले बिक्री हुँदै आएको थियाे।

बालकोटमा मात्रै होइन जिल्लाका अधिकांश मासु पसलमा अहिले खसीको मासु प्रतिकिलो ४०० देखि ५०० रूपैयाँसम्म वृद्धि गरी बिक्री गर्न थालेका छन्।

बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्छन्। “लकडाउन पहिले खसीको मासु प्रतिकिलो एक हजार २०० रूपैयाँमा बिक्री गरेको हो, अहिले खसी पाइँदैन, पाइए पनि जिउँदो खसी नै प्रतिकिलो ८५० रूपैयाँ तिर्नुपर्छ अनि एक हजार ६०० रूपैयाँमा बिक्री नगरे घाटा लाग्छ।”

कुखुराको मासु प्रतिकिलो ३५० रूपैयाँमा बिक्री गर्ने गरिएकाे छ। कुखुरा सहजै पाइने भएकाले कुखुराको मासुको भने मूल्य वृद्धि नभएको उनको दाबी छ।

लकडाउनमा मासु व्यापारीले मनोमानी मूल्य राखेर चर्को मूल्यमा मासु बिक्री गर्ने गरेको अनुगमनका क्रममा पनि पाइएको छ। व्यवसायीले बजारमा मासुको मनपरी मूल्य निर्धारण गरी बिक्री गरेपछि भक्तपुर नगरपालिकाले मासु पसलमा छापा मारेको छ। आज बिहान नगरपालिकाले विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले गरेको मासु पसलको आकस्मिक अनुगमनमा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो। कोभिड-१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा मासुमा मनपरी मूल्यवृद्धि गरेकाे पाइएको संयोजक गोराले जानकारी दिए।

अनुगमनका क्रममा भक्तपुरको केजी कोल्ड स्टोर, ख्वप कोल्ड स्टोर, पूर्ण शाहीको खसी र कुखुराको मासु पसल, भक्तपुर भ्याली कोल्ड स्टोरलगायतले दर्ता नवीकरण नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, खसीको मासु महँगोमा बिक्री गरेको, मासुको मनपरी मूल्य लिएको, मूल्य सूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, फ्रिज चलाएको नमिलेको, मासु जालीले छोपेर नराखेको पाइएपछि तत्काल त्यस्ता गल्ती सुधार्न सचेत गराएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

अनुगमन टोलीका राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापाले लकडाउनयता मासु पसलदेखि अन्य दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलमा मनोमानी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको जानकारी दिए।

स्थानीय तहले प्रभावकारी ढङ्गले लकडाउनमा बजार अनुगमन गर्न नसक्दा मनोमानी मूल्य लिएको, सुरक्षा सामग्री मास्क, पञ्जा, स्यानिटाइजरको प्रयोग नगरेको, सामाजिक दूरी कायम नगरेको पाइएको उनकाे भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्