नेदरल्यान्ड्सको शीर्ष लिग रद्द हुन सक्ने

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण सरकारले १ सेप्‍टेम्बरसम्म ठूला प्रतियोगिता गर्न रोक लगाएपछि नेदरल्यान्ड्सको फुटबल संघले शीर्ष डिभिजन लिग रद्द गर्ने तयारी गरेको छ।

अजाक्स र जानस्ट्रिक अल्कमारले डच लिगको शीर्ष स्थानमा छन्। लिगमा २२ खेल सकिँदा दुवै टिमको समान ५६ अंक छ। तथापि गोलअन्तरका आधारमा अजाक्स शीर्ष स्थानमा छ।

‘‘जारी सिजन २०१९-२० लाई निरन्तरता दिने सोच बनाएका छैनौं। तर अन्तिम निर्णय लिनुअघि हामी युरोपियन फुटबल महासंघ (युईएफए) सँग सल्लाह गर्नेछौं,’’ नेदरल्यान्ड्स फुटबलको सर्वोच्च निकाय केएनभीबीले जारी गरेको विज्ञप्‍तीमा भनिएको छ।

युईएफएले मंगलबार मात्र महामारीका कारण युरोपका केही लिग रद्द हुन सक्ने बताएको थियो।

‘‘सरकारले गरेको निर्णयलाई आधार मानेर हामी युईएफएसँग छलफल गर्नेछौं। त्यसपछि निर्णय गर्नेछौं,’’ केएनभीबीको विज्ञप्‍तीमा उल्लेख छ।

सरकारले गरेको निर्णयले पार्ने प्रभावबारे शीर्ष डिभिजनका क्बलहरूले शुक्रबार छलफल गर्दै छन्। कडा सर्तसहित मैदान खुला हुनेछन्। जसका कारण खेलाडीले भने अभ्यास गर्न सक्नेछन्।

‘‘सबै व्यावसायिक क्लबहरूका लागि यो ठूलो धक्का हो,’’ नेदरल्यान्ड्सका फुटबल पत्रकार मार्सेल भान डेरले बीबीसीसँग भनेका छन्, ‘‘आशा गरौं लिग पुनः सुचारू हुनेछ। तर हामीलाई दर्शकसहित खेल आयोजना गर्न असम्भव छ। र प्रधानमन्त्रीले दर्शकविना आयोजना गर्नु बुद्धिमनी नहुने बताइसकेका छन्।’’

प्रतिक्रिया दिनुहोस्