उदयपुरका संक्रमितको 'ट्राभल हिस्ट्री' र 'कन्ट्याक्ट ट्रेसिङ' गरेर मात्र थप परीक्षण गर्ने तयारी

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केबस्तीमा एकै ठाउँमा २४ जनामा कोभिड-१९ पुष्‍टि भएपछि संभावित संक्रमितको खोजी गर्न र 'मास टेष्‍ट' परीक्षणको रणनीति बनाउन प्रदेश १ सरकार जुटेको छ।

आज दिउँसो यसबारे छलफल गर्न सामाजिक विकास मन्त्रालयमा बैठक बस्‍ने तयारी भइरहेको प्रदेश १ कोभिड-१९ सूचना केन्द्र एवं जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्‍नेतले बताएका छन्।

"समुदायमै संक्रमण फैलने जोखिम देखिएपछि हामी वृहत योजना बनाएर मात्र परीक्षण थाल्ने तयारीमा छौं", बस्‍नेतले देखापढीसँग भने, "शुरूमा संक्रमित देखिएकाहरूको 'ट्राभल हिस्ट्री' र 'कन्ट्याक्ट ट्रेसिङ' लाई आधार मानेर उदयपुरबाहेकका सप्तरी, विराटनगर, सुनसरीमा पनि परीक्षण गर्ने तयारी भइरहेको छ।"

उनका अनुसार पहिले संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानलाई प्राथमिकता दिइने छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली काठमाडौंबाट विराटनगर हिँडिसकेको छ।

"'कन्ट्याक्ट ट्रयाक' गर्नेदेखि मस्जिदमा नमाज पढ्न आएकाहरू सबैको पहिला विवरण संकलन गर्छौं। अनि मात्र परीक्षणमा लाग्नेछौं", उनले भने।

नमूना संकलन गर्न चाहिने किट पनि सिमित रहेकाले पहिले बिरामीको 'ट्राभल हिस्ट्री' र सम्पर्कमा रहेकाहरूको खोजी पहिलो आवश्यकता रहेको उनले जानकारी दिए । त्यसका लागि आवश्यक फारामहरू तयार पारिसकिएको छ।

एउटै समुदायमा धेरैजनामा संक्रमण पाइएपछि हिजो, ९ वैशाख साँझबाट उदयपुर जिल्ला 'सिल' गरिएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संक्रमण थप फैलिन नदिन र परीक्षणलाई व्यापक बनाउन सबै संयन्त्र त्यहाँ परिचालन गरिने बताए।

कार्ययोजनाका साथ उपकरणसहितको प्राविधिक जनशक्ति परिचालन गरिने मुख्यमन्त्री राईले जानकारी दिए।

भुल्केबस्तीको नुरी मस्जिदमा रहेका १६ जनामध्ये ५ र ६ वैशाखमा ११ भारतीय र २ नेपाली नागरिक गरी कूल १३ जनामा कोरोना भाइरस संक्रमण भेटिएको थियो।

उनीहरूको सम्पर्कमा रहेका आसपासका थप ११ जनाको हिजो नमूना जाँच गर्दा पोजिटिभ आएको छ।

सबै २४ जनाको विराटनरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

शुरूमा १३ जनामा कोरोना संक्रमण देखिएपछि अहिलेसम्म भुल्के क्षेत्रका ३२० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।

त्यसमध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ६९ जनाको र छाउनीस्थित सैनिक अस्पतालको चिकित्सक टोलीले बाँकी नमूना संकलन गरेको हो।

ती नमूनाहरूको टेकु, विराटनगर र धरानको प्रयोगशालामा परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्