चैत महीनाको योगदान रकम श्रमिकको खातामा

काठमाडाैं। सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महीनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ।

रोजगारदाताले श्रमिकको फागुन महीनासम्मको योगदान रकम कोषमा दाखिला तथा चैत महीनाको तलब नियमितरूपमा भुक्तानी गरेको विवरण पेश गरेपछि मात्र चैत महीनाको योगदान रकम जम्मा हुने कोषले जनाएको छ।

सरकारले लकडाउनका कारण प्रभावित भएका औपचारिक क्षेत्रका श्रमिकको चैत महीनाको कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिक र २९ प्रतिशत रोजगारदाताको तर्फबाट हुन आउने रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो।

सरकारको सोही निर्णयसँगै फागुनसम्म नियमित योगदान गर्दै आएका रोजगारदाता र श्रमिकको चैत महीनाको योगदानबापत् १८ करोड ६७ हजार रूपैयाँ प्राप्त भइसकेको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिइन्।

लकडाउनको अवधिमा पनि करीब चार हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन्। आजसम्म कोषमा १२ हजार ३३० रोजगारदाता र एक लाख ५७ हजार योगदानकर्ता सूचीकृत भइसकेका छन्।

यसैगरी गत साउनदेखि कोषमा योगदान गर्न शुरू भएकामा हालसम्म ८६१ रोजगारदाताका ३३ हजार ३२७ श्रमिकले ९० करोड ५६ लाख रूपैयाँ योगदान रकम जम्मा भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्