स्क्रिनमा हेरौं आमाको मुख
काठमाडौं। भक्तपुर सुडाल-८ की अञ्जली साखकर्मी (४३) को माइती काभ्रेको तिनपिप्ले हो। हरेक वर्ष आमाको मुख हेर्ने दिन उनी माइतीघर पुग्ने गर्थिन्। बाआमालाई भेट्थिन्। तर यस वर्ष जान पाइनन्।

कोभिड–१९ को संक्रमणको जोखिम बढेसँगै देश लकडाउनमा छ। सरकारले सबैलाई घरमै बस्न अनुरोध गरेको छ। त्यसैले उनी यसवर्ष भिडिओ कल गरेर आमाको मुख हेर्दैछिन्।

“आमालाई भेट्न नपाउँदा खल्लो लागेको छ, तर जोखिम मोलेर के जानु ?” उनी भन्छिन्, “झन् बुढाबुढीलाई चाँडै यो भाइरसले आक्रमण गर्छ भन्ने सुनेकी छु। त्यसैले जोखिम नमोलेकै राम्रो। मोबाइलमा अनुहार हेरेर कुरा गर्न पाइन्छ, त्यही गर्ने हो।”

पाँचखालकी शर्मिला श्रेष्ठ(४५)को माइती सिन्धुपाल्चोकको स्वाराँथोकमा हो। उनलाई आफ्नो नाम मात्रै लेख्न आउँछ। मोबाइलमा फोन गर्न जान्दछिन्।

यसवर्ष उनी पनि आमालाई भेट्न जान नपाउने भइन्। त्यसैले मोबाइलबाटै कुरा गर्ने सोच बनाएकी छन्। “अघिल्ला वर्ष सासुको मुख हेरेर आमालाई भेट्न जान्थें,” उनी भन्छिन्, “यसवर्ष सासुकै मात्र मुख हेर्छु, उहाँ पनि आमा नै हुनुहुन्छ,”।

आज मातातीर्थ औँसी अर्थात् आमाको सम्मान गर्ने दिन। पौराणिक कालदेखि नै जन्म दिने आमालाई यो दिन मिठा परिकार खुवाउने, खुसी बनाउने गरिन्छ। आमालाई भगवानको रुपमा लिइने भएकाले उनको पूजा गर्ने गरिएको हो। ‘मातृ देवो भवः’ भनेर संस्कृत श्लोकमा आमालाई भगवान् भनिएको छ। यस दिन काठमाडौंको मातातीर्थमा मेला लाग्ने गर्छ।

मानिसहरु मातातीर्थ कुण्डमा स्नान गरी श्राद्ध लगायत कार्यहरु गर्छन्। तर, यो पर्वको धार्मिक महत्व मात्र छैन। यसको सांस्कृतिक र सामाजिक महत्व पनि उत्तिकै छ।

साहित्यकार एवं संस्कृतिविद् तुलसी दिवस यस्ता पर्वहरुले आमा, बासँग भेट्ने अवसर जुटाउने बताउँछन्। भन्छन्, “आमा ममताकी खानी हुन्।

उनले सन्तानको सृष्टि मात्रै गर्दिनन्, व्यक्तित्व निर्माणमा पनि उनैको ठूलो हात रहेको हुन्छ। वर्षमा एकपल्ट तिनै आमा, बा, दाजुभाई, दिदीबहिनीलाई भेट्ने अवसर यस्तै चाडपर्वले जुराउँछन्।”

उनका अनुसार आमा नहुनेले पनि उनको सम्झनामा आज सिदा दान गर्छन्। संस्कृतिविद् तुलसी दिवसले पनि धेरैपटक आमाको सम्झनामा दान गरेका छन्।

आमा बितेको धेरै समय भइसकेको भए पनि उनी आमालाई सम्झिरहन्छन्। भावुक बन्छन्। फेसबुकमा आमासँगको फोटो पोस्ट गर्छन्। भन्छन्, “मेरो अहिलेको व्यक्तित्व आमाले नै निर्माण गरिदिनुभएको हो।”

तर, यसवर्ष लकडाउनका कारण आमा हुनेहरुले प्रत्यक्ष भेट्न नपाउने भए। यस्तो जोखिमको अवस्थामा प्रविधिकै सहारामा आमासँग कुरा गर्नु राम्रो हुने उनको सुझाव छ।

“प्रविधिको प्रयोग गरेर अनुभूती साटासाट गर्नु नै उत्तम हुन्छ,” उनी भन्छन्, “भेट्दा आमाप्रतिको कृतज्ञता, हार्दिकता, स्नेह, सम्मान देखाउने हो, त्यो प्रविधिबाटै गरे पनि अनुपयुक्त हुँदैन।”

अर्का संस्कृतिविद् तीर्थराज मुकारुङका अनुसार किरात समुदायमा भने मातातीर्थ औंसीको दिन नै आमाको मुख हेर्ने परम्परा छैन।

तर, अचेल यी समुदायमा पनि यो चाडमा आमासँग भेटघाट गर्ने चलन शुरु भएको छ। बिहे भइसकेका छोरीहरु विभिन्न कोशेलीका साथ आमालाई भेट्न जान्छन्।

बा र दाजुहरु मधेशमा भएका बेला तीर्थराजलाई भोजपुरमा आमाले नै हुर्काएकी थिइन्। दुःख गरेर पढाइन्। त्यसैले अहिले आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन्।

“परम्परागत रुपमा हाम्रो संस्कृतिमा आमाको मुख छोरीले हेर्ने चलन हो,” उनले भने, “किनकी छोरीलाई अर्को परिवारमा पठाइएको हुन्छ। उ स्वयम् आमा बन्नुपर्ने हुन्छ। त्यसबेला उनले आमाको दुःख बुझ्छिन्। आमा हुन कति कष्ट हुन्छ भन्ने महशुस गर्छिन्। त्यसैले उनीहरु आमाको मुख हेर्न आउँछन्।’

लामो बाटो यात्रा गरेर उमेर पाकेका आमालाई भेट्न जाँदा कोभिड–१९ संक्रमणको खतरा हुनसक्ने भएकाले नजिकैबाट भेटेर भन्दा टाढैबाट भलाकुसारी गर्नु उपयुक्त हुने उनको सुझाव छ। भन्छन्, “हामी बाँच्यौ भने न संस्कृति बचाउन सक्छौँ, त्यसैले पहिले बाँच्नुपर्यो। स्वास्थ्य जोखिम मोलेर सांस्कृतिक गतिविधि गरिनुपर्दैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्