नगरपालिकाको नयाँ जुक्ति : लागुऔषध प्रयोगकर्तालाई राख्न थालियो क्वारेन्टाइनमा

काँकडभिट्टा। झापाको मेचीनगरमा लागुऔषध प्रयोगकर्तालाई क्‍वारेन्टाइनमा राखेर नगरपालिकाले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्‍वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरूको बानी सुध्रिने नगरपालिकाको अपेक्षा देखिन्छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन कडा बनाउँदै लगेपछि लागुऔषध नपाएर छटपटाएका प्रयोगकर्ता लकडाउन उल्लंघन गर्दै सडकमा निस्केर उत्पात मच्चाउन थालेका थिए ।

लकडाउनले लागुऔषध व्यापारको जालो भत्किएपछि कुलतमा लागेका युवा राति सुरक्षाकर्मीको आँखा छलेर सीमा क्षेत्रबाट भारततिर पस्‍न थालेका थिए। त्यसपछि नगरपालिकाले कुलतमा लागेका व्यक्तिहरूलाई प्रहरीमार्फत नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राख्‍न थालेको हो।

क्‍वारेन्टाइनमा राखिएका व्यक्तिलाई लागुऔषधको कुलतबाट छुटाउन उपचारको विधिसमेत प्रयोग गरिने झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए।

मेचीनगर-८ इँटाभट्टास्थित आदर्श माविमा विशेष क्‍वारेन्टाइन बनाई उनीहरूको उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन्। उनका अनुसार नगर क्षेत्रका डेढ सयजना लागुऔषध प्रयोगकर्तालाई विशेष क्‍वारेन्टाइनमा राख्‍ने योजना छ । हिजो काँकडभिट्टा आसपासबाट सीमा काटेर भारततिर लागुऔषध लिन जाँदै गर्दा पक्राउ परेका छ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

उनीहरूको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीले जानकारी दिइन्। उनीहरूलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनुपर्ने भएकाले मनोपरामर्शका लागि नगर क्षेत्रकै सुधार केन्द्रका विज्ञहरूलाई पालो मिलाएर क्‍वारेन्टाइनमा बोलाइएको एसपी कोइरालाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्