भूकम्प दिवसमा राष्ट्रपतिको सन्देश- पुनर्निर्माणमा उदाहरणीय काम

काठमाडौं। राष्‍ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाहरूप्रति श्‍रद्धासुमन व्यक्त गर्दै घाइते तथा अंगभंग भई हालसम्म पनि समस्यामा रहेकाहरूको सहज जीवनको कामना गरेकी छन्।

राष्‍ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा १२ वैशाख ०७२ को भूकम्पलगत्तै उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुननिंर्माणमा उदाहरणीय काम गर्न सकेको उल्लेख छ।

सन्देशमा भनिएको छ, “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्‍टको परवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”

सरकारले राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावितको पुनःस्थापना अगाडि बढाएको छ। यसबीचमा करिब पाँच लाख निजी अवास पुनर्निर्माण सम्पन्‍न हुनुका साथै करिब दुई लाख निजी आवास पुनर्निर्माणको प्रक्रियामा छन्।

“भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्‍व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धी हासिल भएका छन्,” सन्देशमा भनिएको छ, “यसै सन्दर्भमा पुनर्निर्माण पुनःस्थापनाका कार्यमा लाग्नु हुने र सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”

“सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ,” सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्‍यमा विपद्‍बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्‍ने विश्‍वास लिएको छु।”

प्रतिक्रिया दिनुहोस्