कोभिड-१९ विरुद्ध अक्स्फोर्ड विश्वविद्यालयले थाल्यो भ्याक्सिनको परीक्षण

लन्डन। युरोपमा कोभिड-१९ विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण बेलायतको अक्स्फोर्ड विश्‍वविद्यालयले शुरु गरेको छ।

पहिलोपटक दुई स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ। अध्ययनका लागि आठ सयभन्दा बढी मानिसलाई सहभागी गराइँदैछ।

तीमध्ये आधालाई कोभिड-१९ भ्याक्सिन दिइनेछ भने आधालाई नियन्त्रण भ्याक्सिन दिइनेछ। नियन्त्रण भ्याक्सिन कोरोना भाइरसको नभई मेनिन्जाइटिसबाट मानिसलाई बचाउन प्रयोग हुँदै आएको छ।

बीबीसीका अनुसार अध्ययनमा सहभागीहरूलाई कुन भ्याक्सिन दिइयो भन्‍ने जानकारी हुने छैन। पहिलोपटक भ्याक्सिन पाएका दुईमध्ये एलिसा ग्रेनाटोले भनिन्, ‘म वैज्ञानिक हुँ र जहाँ पनि वैज्ञानिक प्रक्रियाको समर्थन गर्छु।’

उक्त भ्याक्सिन तीन महीनाको प्रयासमा अक्स्फोर्ड विश्‍वविद्यालयको टोलीले विकास गरेको हो। प्रि-क्लिनिकल रिसर्चको नेतृत्व जेनर इन्स्टिच्युटमा भ्याक्सिनोलोजी प्राध्यापक सराह गिल्बर्टले गरेकी थिइन्।

‘व्यक्तिगत रूपमा यस भ्यासिक्नप्रति मेरो पूर्ण भरोसा छ,’ उनले भनिन्, ‘यसको परीक्षणमार्फत मानिसबाट तथ्यांक प्राप्त गर्नुछ। र, मानिसमाथि व्यापक रूपमा भ्याक्सिनको प्रयोग गर्नुअघि कोरोना भाइरसको संक्रमणबाट मानिसलाई बचाउनु छ।’

उनी यस भ्याक्सिनले कोरोना भाइरसको संक्रमणबाट मानिसलाई बचाउन ८० प्रतिशत काम गर्ने विश्‍वा लिइएको बताउँछिन्। ‘म धेरै आशावादी छु,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्