११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। बैठकका एजेण्डाबारे भने अहिलेसम्म केही जानकारी नभएको उनले प्रष्‍ट पारिन।</p>
<p>गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशका बारेमा पार्टीभित्र र बाहिर तीव्र विरोध र आलोचना भएपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्। हिजो पनि पार्टीका अर्का अध्यक्ष पुष्‍पकमल दाहाल र शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार रहेको विषय बाहिर आएको थियो।</p>
<p>बालुवाटार उच्च स्रोतका अनुसार यी दुई अध्यादेश आजको बैठकले फिर्ता लिन सक्ने सम्भावना देखिएको छ। प्रधानमन्त्रीले हिजो बेलुका अध्यादेशका बारेमा नै तीव्र आलोचना र विवाद भएपछि यसविषयमा राष्‍ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिसकेका छन्। </p>
<p>मन्त्रिपरिषद्को आजको बैठकले १५ वैशाखपछि लकडाउन के गर्ने भन्‍ने विषयमा पनि निर्णय गर्ने बुझिएको छ। त्यस्तै कोभिड १९ को संक्रमण, रोकथाम र उपचारमा भइरहेको काम र थप रणनीतिका बारेमा पछि छलफल हुने बताइएको छ। सरकारले ११ चैतदेखि लकडाउन गरेको हो। विभिन्‍न चरणमा निरन्तर दिइएको लकडाउनको पछिल्लो समय १५ वैशाख कायम गरिएको छ</p>
प्रतिक्रिया दिनुहोस्