प्रधानमन्त्रीले क्याबिनेटमा भने- 'नेताहरुसँगको सल्लाहमै अध्यादेश ल्याइएको हो, सल्लाहमै फिर्ता भो'
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको सल्लाहअनुसार सरकारले ल्याएका दुई वटा अध्यादेश फिर्ता गर्ने निर्णय गरिएको बताएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ वैशाखमा ल्याइएका राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।</p>
<p>मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ बैशाखमै ती दुवै अध्यादेश जारी गरेकी थिइन्।बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीले नेताहरुकै सल्लाहमा दुवै निर्णय लिइएको जानकारी गराएको बताए।</p>
<p>"अध्यादेशबारे चार पाँच महिना अघिदेखि नै नेताहरुबीच छलफल भएको थियो, खालि अध्यादेश कहिले ल्याउने भन्नेबारे मात्र कुरा भएको थिएन", प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, "अहिले फेरि हाम्रो पार्टीका नेताहरुले अध्यादेश फिर्ता गरौं भन्नुभो, त्यही सल्लाहअनुसार फिर्ता लिने निर्णय भएको हो।"</p>
<p>प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग ११ बैशाखमा पनि यसबारे छलफल गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्