कोभिड-१९ ले निम्त्याएकाे संकटसँग लड्न अर्थमन्त्रीका तीन रणनीति
काठमाडौं। सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले काेभिड-१९ ले निम्त्याएकाे समस्यासँग जुध्न तीनवटा रणनीति उपयुक्त हुने बताएका छन्।

उनले सीमानाकामा हुने मानिसहरूको आवतजावत नियन्त्रण तथा आप्रवासी कामदारहरूलाई आधारभूत सुविधा उपलब्ध गराउन क्रस बोर्डर र अन्तर्राष्ट्रिय सहयोग तथा समन्वय गर्नुपर्ने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने र ऋण स्थगन तथा ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरूको वित्तीय क्षमता बढाउने रणनीतिबाट अघि बढ्नुपर्ने बताएका हुन्।

डा. खतिवडाले एक भिडिओ कन्फ्रेन्समा यस्ताे बताएका हुन्।

साे कन्फ्रेन्समा विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारीको सहभागित थियो। साथै निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व स्वास्थ संगठनका पदाधिकारीहरू समेत उक्त कन्फ्रेन्समा सहभागी थिए।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभावका बारेमा जानकारी गराएका थिए। त्यसैगरी, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले चालेका कदमहरूबारे बताएका थिए।

उनले आर्थिक क्षतिको पुनःस्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक पर्ने उल्लेख गरेका थिए। कोरोना भाइरसले धरैलाई बेरोजगारी र गरिबीतर्फ धकेलेको समेत उनको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्