डोल्पा अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा

डाेल्पा। डाेल्पा सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेकाे छ।

अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्त गरेर शल्यक्रियासहितको प्रसूति सेवा शुरू गरेकाे हाे।

जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले विकट गाउँबस्तीबाट सुत्केरी गराउन आउने गरेका छन्।

अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाडाैं, सुर्खेतलगायतका जिल्ला बाहिरका शहरमा जानुपर्ने अवस्था हटेको छ।

मंसीरयता मात्रै ज्यानै जोखिममा परेका आठ गर्भवतीको सफल शल्यक्रिया गर्न सफल भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक शङ्करप्रसाद राउतले जानकारी दिए।

“पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायत जटिल प्रकारको शल्यक्रिया पनि सफल रूपमा गरेका छाैं”, डा राउतले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा अस्पतालको सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको थियो।

सुरक्षित प्रसूति सेवा नपाएर अकालमा ज्यान गुमाउँदै आएका ग्रामीण महिलालाई विशेषज्ञ सेवा दिएर ज्यानसँगै जिल्ला बाहिर लैजाँदा लाग्ने लाखौँ रकम जोगिएको अस्पताल प्रमुख डा. सिजन रावलले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्