लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ। समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्‍न लागेको हो।

उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले लकडाउन लगायतका विभिन्न विषयमा छलफल गर्न बैठक बस्‍न लागेको जानकारी दिए। सरकारले १५ वैशाखसम्म लकडाउन जारी गरेको थियो।

आजको बैठकले १५ वैशाखपछि लकडाउनलाई निरन्तरता दिने वा के गर्ने भन्‍ने विषयमा निर्णय गर्नेछ।

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले ११ चैतदेखि नेपालमा लकडाउन गरेको हो। त्यसयता विभिन्‍न चरणमा समय थप्दै १५ वैशाखसम्म पुगेको छ।

“देश एक महिनाभन्दा लामो समय लकडाउनमै छ। अब के गर्ने भन्ने विषयमा आजको बैठकले स्वरुप निर्धारण गर्नेछ,” समिति स्रोतले भन्यो। कोरोना भाइरसका संक्रमित थपिँदै गएकाले पनि के गर्ने भन्ने विषयमा अन्योल कायमै छ।

लकडाउनलाई केही समय निरन्तरता दिनुपर्ने र स्वरुप केही परिवर्तन गर्नुपर्ने दुवैखाले प्रतिक्रिया आइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सरकारी सञ्चारमाध्यमहरुसँगको अन्तरक्रिया कार्यक्रममा सीमा नाका पूर्ण रुपमा बन्द नै रहेन र लकडाउन पनि तत्कालै पूणै रुपमा हटाउन नसकिने धारणा राखेका थिए।

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले उच्चस्तरीय समितिलाई लकडाउनका विषयामा प्रस्ताव ल्याउन भनिसकेका छन्। समितिको आजको बैठकले गरेको निर्णयका आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्