औषधीको कच्चा पदार्थ सीधै चीनबाट भित्र्याउँदै व्यापारी

काठमाडौं। भारततर्फबाट आयात असहज बनेपछि औषधी उत्पादकहरूले चीनबाट कच्चा पदार्थ भित्र्याउने तयारी थालेका छन्।

हालसम्म नेपालमा उत्पादन हुने औषधीको ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ भारतबाट आयात हुँदै आएको थियो। भारतले पनि चीनबाट औषधीको कच्चा पदार्थ आयात गर्छ। सोही कच्चा पदार्थ नेपाल आयात हुँदै आएको थियो।

नेपाली उत्पादकले अब सीधै चीनबाट कच्चा पदार्थ भित्र्याउने प्रक्रिया अगाडि बढाएका हुन्। त्यसका लागि नेपाली औषधी उत्पादकहरूले आन्तरिक छलफल तीव्र बनाएका छन्।

कोभिड-१९ को प्रकोप शुरु भएपछि भारतले औषधी र त्यसमा प्रयोग हुने कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ। सोही कारण नेपाली उद्योगीहरूले सीधै चीनबाट आयात गर्ने तयारी थालेका हुन्।

भारतले भने नेपाललगायत केही मुलुकका हकमा त्यस्तो प्रतिबन्ध लागू नहुने बताउँदै आएको छ।

त्यसका बावजुद भारतबाट कच्चा पदार्थ आयातमा समस्या भइरहेको नेपाल औषधी उत्पादक संघले बताएको छ।

केही दिनअघि नेपाल औषधी उत्पादक संघले आयोजना गरेको उद्योगीहरूको भर्चुअल बैठकबाट चीनबाट कच्चा पदार्थ ल्याउने निर्णय भएको हो। संघमा आबद्ध सबै व्यवसायी मिलेर एकैपटक चीनबाट सामान ल्याउने निर्णय भएको संघले बताएको छ। उक्त बैठकमा संघमा आबद्ध ६२ मध्ये २५ जना उद्योगीको सहभागिता थियो।

सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै कच्चा पदार्थ आयातका लागि सबै उद्योगी तयार भएको संघका अध्यक्ष दीपकप्रसाद दाहालले बताए।

उनका अनुसार पहिले स-सानो परिमाणमा पनि सामान दिन तयार हुने भारतीय व्यवसायी अहिले एक कन्टेनरभन्दा कम पठाउन तयार छैनन्। यस्तै, पहिले उधारोमा पनि सामान पठाउँदै आएकामा हिले पूर्ण भुक्तानीपछि पनि सहजै पठाउँदैनन्।

“भारतबाट सामान ल्याउँदा थोरै परिणाममा पनि ल्याइन्थ्यो। तर, चीनबाट एक÷दुई कार्टुन मात्र ल्याउन सकिँदैन,” दाहालले भने, ‘त्यसैले सबै उद्योगीले एकैपटक सामान ल्याउनुपर्छ।’

उनले समुद्री मार्ग हुँदै कोलकाता ल्याएर त्यहाँबाट हवाईजहाजमार्फत चीनबाट कच्चा पदार्थ भित्र्याउने विकल्प पनि नभएको होइन। तर, हवाई मार्ग बन्द रहेको र समुद्री मार्गबाट कोलकातासम्म सामान ल्याइपुर्‍याउन समय लाग्ने भएकाले तातोपानी नाका रोजिएको दाहालले जानकारी दिए। अहिले केरुङ-रसुवागढी नाका पनि बन्द छ।

संघका अनुसार अबको एक साताभित्र चीनबाट कच्चा पदार्थ आयातको प्रक्रिया शुरु नगरिए आगामी महीनादेखि बजारमा औषधी अभाव देखिन थाल्नेछ। उद्योगहरूमा मौज्दात रहेको कच्चा पदार्थ सकिन लागेकाले यस्तो अवस्था आएको संघले बताएको छ।

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि उत्पादकहरूले चीनबाट कच्चा पदार्थ ल्याउनेबारे पटक-पटक छलफल गरेको जानकारी दिए।

चीनबाट कच्चा पदार्थ ल्याउँदा भाडादर महँगो भएकाले अनुदान उपलब्ध गराउन उद्योगीहरूले सरकारसँग आग्रह गरेका छन्।

विभागका अनुसार ६३ वटा नेपाली उद्योगले नौ हजार ब्रान्डका औषधी उत्पादन गर्दै आएका छन्। नेपालका उत्पादकहरूले जीवनजलमा प्रयोग हुने कच्चा पदार्थ अहिले पनि सीधै चीनबाट आयात गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्