आन्तरिक हवाई सेवा खोल्नेबारे छलफल शुरू, पकेट क्षेत्रका लागि 'हेल्थ सेफ्टी मेजर' बनाउँदै प्राधिकरण

काठमाडौं। कोभिड-१९ को कम जोखिम भएको र हवाई सेवाका लागि पकेट क्षेत्र मानिएका ठाउँमा आन्तरिक वायु सेवा नियमित गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणले छलफल थालेका छन्।

लामो समय हवाई सेवा बन्द गरेर बस्‍न नसकिने हुँदा केही पकेट क्षेत्रमा सेवा कसरी नियमित गर्न सकिन्छ भन्‍ने विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

प्राधिकरणले आन्तरिक वायु सेवा खुलाउँदा आवश्यक पर्ने स्वास्थ्य सुरक्षा प्रोटोकल तयारीको काम पनि थालेको छ।

सरकारले १८ वैशाखको मध्य रातिसम्मका लागि आन्तरिक र अन्तर्राष्‍ट्रिय हवाई सेवा स्थगन गरेको छ। ती हवाई सेवा पुनः सञ्चालनमा आउँदा यात्रुको स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानीबारे गृहकार्य शुरू गरिएको पोखरेलले बताए।

“हवाई सेवा सञ्चालमा आउँदा यात्रुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। त्यसका लागि हामी तयार भएर बस्‍नुपर्छ,” पोखरेलले भने, “सरकारले हवाई सेवा नियमित गर्ने निर्णय गर्दा सबै तयारी पूरा भएको होस् भनेर काम थालेका छौं।”

विमानस्थलमा कस्तो प्रकृतिको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने, जहाजमा यात्रु कसरी राख्‍ने, कसरी ओराल्ने, टिकट काट्न कस्तो व्यवस्था मिलाउने भन्‍ने विषयमा छलफल भइरहेको उनले बताए।

इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसिएशनले विमानभित्र व्यक्तिगत दूरी कामय गर्न एक सिट खाली हुनेगरी यात्रु राख्‍ने व्यवस्था मिलाउन हवाई सेवा प्रदायक कम्पनीहरूलाई सुझाव दिएको छ।

“आन्तरिक हवाई सेवा नियमित गर्दा पनि कसरी खोल्दा स्वास्थ्यका हिसाबले सुरक्षित हुन सकिन्छ भन्‍ने विषयमा गृहकार्य गरिरहेका छौं,” उनले भने, “नेपालभर कहाँकहाँ कडाइ गर्नुपर्छ, कहाँ खोल्न सकिन्छ भन्‍ने मूल्यांकन गरेर विस्तारै आन्तरिक हवाई सेवा खोल्दै जानुपर्छ।”

हवाई सेवा प्रदायक कम्पनीहरू र प्राधिकरणको सेफ्टी डिपार्टमेन्टले संयुक्त रूपमा पूर्वतयारीको गृहकार्य गरिरहेका छन्।

यस्तै, विमानस्थल व्यवस्थापनले पनि हवाई सेवा नियमित हुँदा अपनाउनुपर्ने ’सेफ्टी मेजर’को विषयमा छलफल शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्