लकडाउनका बेला हेटाैंडाका उद्योगमा दैनिक ३० करोड घाटा

हेटाैंडा। लकडाउन लम्बिँदै जाँदा हेटाैंडाका उद्योगमा दैनिक ३० करोड रूपैयाँ घाटा भइरहेको छ।

हेटौंडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन्।

औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीरसहित मजदुर कार्यरत छन्। लकडाउनका कारणले उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ।

लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करीब तीन करोड रूपैयाँभन्दा बढीको कारोबार हुने गरेको थियो।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरू उत्पादन गर्ने २०-२१ उद्योग मात्र सञ्चालनमा छन्। समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ। उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ।

कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दाना उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा छन्।

सञ्चालित उद्योग पनि मझौला उद्योगहरू हुन्। उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रै समस्या आएको उद्योग संघले जनाएको छ।

संघका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे। उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ।

त्यस्तै हेटौंडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन्।

प्रतिक्रिया दिनुहोस्