कोरोना कहरले औपचारिक कार्यक्रम विनै वार्षिक उत्सव मनाउँदै राष्ट्र बैंक

काठमाडौं। सहज अवस्था हुन्थ्यो भने यतिबेला नेपाल राष्ट्र बैंकको प्रांगण झकिझकाउ भएर विशिष्ट अतिथिको स्वागतमा हुन्थ्यो।

राष्ट्र बैंकका कर्मचारीहरू पनि भ्याईनभ्याई दौडधुपमा हुन्थे। राष्ट्र बैंक भव्य रूपमा ६५औं वार्षिक उत्सव मनाइरहेको हुन्थ्यो। तर, यो वर्ष राष्ट्र बैंकमा यस्ता कुनै रौनक छैनन्।

कर्मचारीहरूलाई भ्याइनभ्याई त छ तर, त्यो वार्षिक उत्सव मनाउनको लागि होइन।

उनीहरू कोभिड-१९ ले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको प्रभावको अध्ययन र त्यसका लागि राहत प्याकेज बनाउने काममा व्यस्त छन्।

नवनियुक्त गनर्भर महाप्रसाद अधिकारीको कार्यकालको यो पहिलो वार्षिक उत्सव थियो।

तर, उनले भव्य समारोहलाई गभर्नरको रूपमा सम्बोधन गर्दै राष्ट्र बैंकका काम र आगामी योजनाका विषयमा कर्मचारी र सहभागीलाई जानकारी गराउन पाएनन्।

गभर्नरको वक्तव्य राष्ट्र बैंकको वेवसाइटमार्फत सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

वार्षिक उत्सवको अवसरमा राष्ट्र बैंकका कर्मचारीहरूको खेलकुद प्रतियोगिता हुन्थ्यो।

विजेतालाई पुरस्कृत गर्ने, उत्कृष्ट कर्मचारी घोषणा गर्ने र पुरस्कृत गर्ने, रक्तदान कार्यक्रम आयोजना गर्ने पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।

“२०४५ सालयता नेपाल राष्ट्र बैंकको वार्षिक उत्सव समारोह नभएको यो दोस्रो पटक हो। १२ वैशाख २०७२ मा भूकम्प गएपछि पनि अन्तिम समयमा आएर राष्ट्र बैंकको वार्षिक उत्सव प्रभावित भएको थियो”, उनले भने।

यस पटक भने विश्वव्यापी महामारी बनेको कोरोनाका कारण राष्ट्र बैंकले वार्षिक उत्सव मनाउन पाएन।

सिवाकोटीका अनुसार धेरै मानिसको भीडभाड हुने भएकोले संक्रमणको जोखिम र अहिले खर्च कटौति गर्नुपर्ने अवस्था पनि भएकाले वार्षिक उत्सव गर्न नसकिएको हो।

आज साँझ राष्ट्र बैंकका कर्मचारीहरू मात्रै सहभागी भएर दीपावली गर्ने कार्यक्रम भने तय भएको छ।

त्यसैगरी, यसअघि नै कर्मचारीहरूका बीचमा आर्थिक विषयमा लेखन प्रतियोगिता सम्पन्न गरेको थियो। त्यसको नतिजा मात्रै आज सार्वजनिक गरिने उनले बताए।

वार्षिक उत्सवकै अवसर पारेर राष्ट्र बैंकले नयाँ वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटको केही काम भने अझै बाँकी रहेको प्रवक्ता गुणकर भट्टले बताए।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष हाउस जर्नलको रूपमा प्रकाशन गर्दै आएको ‘राष्ट्र बैंक समाचार’ पनि प्रिन्टिङ प्रेसहरू बन्द भएकाले यस वर्ष प्रकाशन भएन।

बैंक आफैंले तयार गर्ने वार्षिक प्रतिवेदन, चौमासिक प्रतिवेदनलगायतका प्रकाशन भने प्रकाशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्