कालोबजारी आरोपमा पक्राउ परेका अग्रवालको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीललाई बुझायो <p>काठमाडौं। कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीलको कार्यालयमा पेश गरेको छ। महानगरीय प्रहरी परिसरले अग्रवालबारेको अनुसन्धान प्रतिवेदन आज सरकारी वकीलको कार्यालयमा पेश गरेको हो।</p> <p>शंकर ग्रुपका मालिक अग्रवाल २६ चैतमा ६७ वटा ज्वरो नाप्ने थर्मल गन लुकाएर चर्को मूल्यमा बेच्दै गरेको अवस्थामा नक्सालबाट पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले अग्रवालविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको बताए। उनले भने, &ldquo;हामीले अनुसन्धान सकेर सरकारी वकीलको कार्यालयमा पेश गरेका छौं। आगामी प्रक्रिया उनीहरुले हेर्छन।&rdquo;</p> <p>नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले थर्मल गनको कालोबजारी गर्न कूटनीतिक गाडीको प्रयोग गरेका थिए। अब सरकारी वकीलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरी अग्रवालविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्