लकडाउन नियम उल्लंघन गर्ने केनप्रति एभर्टनको आपत्ति

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले फरवार्ड मोइज केनले काेरोना भाइरस संक्रमणमा लकडाउनको नियम उल्लङ्घन गरेको कुरा क्लबलाई स्वीकार्य नहुने जनाएको छ।

कोरोना भाइरस महामारीको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने क्लबको नियमलाई उल्लङ्घन गर्दै केनले घरमा पाहुना बोलाएर ‘पार्टी’ गरेका थिए।

केन गत वर्ष युभेन्टसबाट दुई करोड ४० लाख पाउण्डमा एभर्टन आएका थिए। क्लबले उनलाई अनुशासनको कारबाही गर्ने सम्भावना छ।

‘‘सिनियर टीमका खेलाडीले सरकारी नियम उल्लङ्घन गरेको विषयमा एभर्टन फुटबल क्लबको गम्भीर ध्यानाकर्षण भएको छ। यसमा क्लबको गम्भीर आपत्ति छ र यस्तो कार्य क्लबका लागि स्वीकार्य हुँदैन’’, एभर्टनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘क्लबले नियमितरूपमा सरकारका सबै दिशानिर्देशहरू पालना गर्न महत्त्वका साथ जोड दिएको छ। यस विषयमा शृंखलाबद्धरूपमा खेलाडीसहित सबै कर्मचारीहरूसँग छलफल भइरहेको छ। नेशनल हेल्थ सर्भिसको मिहिनेत र त्याग सम्मानजनक छ। हामीले आफ्नो तर्फबाट उनीहरूलाई सहयोग गर्नुपर्छ।’’

यसअघि ज्याक ग्रालिस र केली वाल्करले पनि लकडाउनको नियम उल्लङ्घन गरेका थिए। त्यस्तै गत साता सर्ज अउरियर र मोउसा सिसोकोले सँगै ट्रेनिङ गर्दा विरोध भएपछि माफी मागेका थिए।

२० वर्षे केनले एभर्टनमा डेब्यू सिजन प्रभाव जमाउन सकेनन्। उनले २६ खेलमा एक गोल मात्र गरेका थिए।

प्रतिक्रिया दिनुहोस्