रोजगारी र स्वास्थ्य बजेटका मुख्य प्राथमिकता, स्रोत जुटाउन कठिन

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जनामा केन्द्रित हुने भएको छ।

कोभिड–१९ को दुस्प्रभावको कारण खस्किएको अर्थतन्त्र सुधार गर्न र वैदेशिक रोजगारी कटौती हुने सम्भावनालाई ध्यान दिएर स्थानीयस्तरमा रोजगारी बढाउन मद्दत पुग्ने गरी बजेटका कार्यक्रम बनाउन लागिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए।

“नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुकमा कोभिड-१९ को दुस्प्रभाव गहिरो छ। त्यहाँबाट लाखौं युवा रोजगार गुमाएर फर्किने सम्भावना छ”, खत्रीले भने, “तिनै युवालाई लक्षित गरेर बजेटका कार्यक्रमहरू तय हुन्छन्।”

आगामी दिनमा स्वदेशमा भएको युवा पनि वैदेशिक रोजगारीमा जान नसक्ने अवस्था आउने भएकाले उनीहरूलाई पनि स्वदेशमै रोजगारी दिनुपर्ने अवस्था रहेको उनले बताए।

अर्थ मन्त्रालयले रोजगारी सिर्जना हुन सक्ने क्षेत्र पहिचान गरिरहेको पनि उनले बताए। धेरै मात्रामा रोजगारी सिजर्ना गर्न सक्ने भएकाले कृषि पहिलो प्राथमिकतामा रहने उनकाे भनाइ छ।

“कृषिलाई आत्मनिर्भर बनाउने र औद्योगिक कलकारखानालाई प्रवर्द्धन गर्ने बजेटको प्रमुख प्राथमिकता रहन्छ। अर्थतन्त्रलाई उकास्न साना तथा मझौला उद्योगलाई चलायमान बनाउनुपर्छ। आगामी बजेटमा यिनै विषयलाई विशेष महत्त्व दिन्छौं”, उनले भने।

यसपटकको बजेटमा महत्त्वकांक्षी योजनालाई भन्दा पनि कोरोना प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट तयारीको काम भइरहेको खत्रीको भनाइ छ।

त्यसैगरी, स्वास्थ्य पूर्वाधार विकासमा पनि बजेटका कार्यक्रम केन्द्रित हुनेछन्। त्यसबाहेक आगामी आर्थिक वर्षमा सम्पन्न हुने विकास पूर्वाधारका आयोजनालाई बजेटमा महत्त्व दिने योजना रहेको उनले बताए।

आगामी बजेटको मुख्य चुनौती नै स्रोत जुटाउनु रहेको उनी बताउँछन्। “लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको छैन। वैदेशिक सहायता दिने निकाय पनि कोरोना महामारीको चपेटामा छन्”, उनले भने, “प्रशस्त आन्तरिक ऋण उठाउन सकिने अवस्था पनि छैन।”

बजेटको स्रोत व्यवस्थापनको लागि अर्थ मन्त्रालयले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकसँग सहायता लिने विषयमा छलफल गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्