वुहानका सबै अस्पतालमा उपचाररत् काेभिड-१९ का बिरामी निकाे भएर घर फर्किए

वुहान। काेभिड-१९ काे उद्गमस्थल चीनको वुहान शहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड-१९ संक्रमित व्यक्ति उपचारपछि आज घर फर्किएका छन्।

दिङ थरका ७७ वर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड-१९ को संक्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति भएका छन्।

दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएपछि उनलाई आज घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन्।

आजकाे घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्त्वपूर्ण क्षण बनेको छ।

चीनको वुहानमा विगत पाँच दिनदेखि संक्रमितको संख्या दुई अंकमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ बिरामी र वुहानमा ३८ हजार २० बिरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।

हालसम्म चीनमा ८२ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ भने ८०१ जना बिरामीको चीनभर उपचार भइरहेको छ। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा ७७ हजार ३९४ संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन्। रासस/सिन्हवा

प्रतिक्रिया दिनुहोस्