मुख्यमन्त्रीहरूसँग आज तेस्रो बैठक गर्दै भारतीय प्रधानमन्त्री मोदी
<p>नयाँदिल्ली। कोभिड-१९ को बढ्दो प्रभाव रोकथाम र नियन्त्रणका लागि रणनीति बनाउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार सबै राज्यका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक गर्दै छन्।</p>
<p>भारतमा कोरोना भाइरसको संक्रमण शुरु भएयता मोदीले मुख्यमन्त्रीहरूसँग गरेको तेस्रो भर्चुअल बैठक हुनेछ।</p>
<p>आजको बैठकमा मोदीले लकडाउनबाट चरणबद्ध रूपमा बाहिर निस्किनेसम्बन्धी विषयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालय निकटस्थ स्रोतको भनाइ छ।</p>
<p>केन्द्रीय गृह मन्त्रालयले पछिल्ला दिनमा क्रमशः लकडाउनमा छुट दिँदै गएको छ। ग्रामीण क्षेत्रका पसलहरू खोल्न अनुमति दिइएको छ। शहरी क्षेत्रबाहिरका पसल खोल्न पनि सहज बनाउँदै लगिएको छ। प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बीचको सोमबारको बैठकले आगामी दिनका लागि उठाउनुपर्ने कदमका बारेमा निष्कर्ष निकाल्ने अनुमान गरिएको बीबीसीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्