कोभिड-१९ संकट : कर्मचारी कटौतीको तयारीमा एयरबस
लन्डन। युरोपेली विमान निर्माता एयरबसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिलम फुरेले कोभिड-१९ महामारीका कारण कम्पनी गम्भीर आर्थिक संकटको दिशामा रहेको बताएका छन्।
कम्पनीको नगद प्रवाह तीव्र गतिमा ओरालो लागेको जानकारी उनले कामदारहरूलाई दिएका हुन्। एयरबसले अप्रिलदेखि विमान उत्पादनमा एक तिहाइले कटौती गर्ने घोषणा गरिसकेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आफ्ना एक लाख ३५ हजार कर्मचारीलाई गहिरिँदो आर्थिक संकटका कारण कामदार कटौतीको विकल्प नभएको सीईओ फुरेले बताएका छन्।
निर्माणाधीन र तयार भइसकेका विमानहरू डेलिभरी नहुने अवस्था देखिएको उनले बताए। हवाई उद्योगका समाचार कभर गर्ने न्युजपोर्टल फ्लाइट ग्लोबलका ग्रेग वाल्ड्रनले आफूले यसअघि नै गरेको भविष्यवाणी सत्य सावित हुने क्रममा रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्