३२ अर्बको बजेट ल्याउँदै कर्णाली प्रदेश, कोभिड-१९ रोकथाम र उपचार प्राथमिकता

सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ।

प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी मन्त्रालय तथा मातहतका निकायमा बजेटको गृहकार्य गरेको हो।

नीति तथा कार्यक्रम र बजेटको काम गर्न प्रशासनिक कार्यका लागि कार्यालय खोल्ने निर्णयमा प्रदेश सरकार पुगेको छ।

लकडाउनको एक महीनासम्म यी कार्यालय बन्द थिए।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णयानुसार वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुट्नुपरेकाले सरकारी कार्यालय सञ्चालन गर्नुपरेको बताएकी छन्।

“आर्थिक वर्षको अन्तिममा छौँ, आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने बेला आइसक्यो”, उनले भनिन्, “कर्मचारीले सुरक्षा सावधानी अपनाई कार्यालयमै बसेर आन्तरिक काम गर्दैछौं।”

प्रदेश सरकारले १ असारबाट बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ।

प्रदेश योजना आयोगले आगामी वर्षका लागि ३७ अर्बको बजेट सिलिङ प्रदेश सरकारलाई पठाइसकेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी वर्ष पनि कोभिड-१९ संक्रमण, रोकथाम र उपचारका लागि बजेट केन्द्रित गर्नुपर्ने बाध्यता कायमै रहने बताए।

प्रदेश योजना अयोगका सदस्य डा. दीपेन्द्र रोकायाले पञ्चवर्षीय योजनाको आधारपत्रमै टेकेर बजेट तयार गरिने भए पनि कोभिड-१९ का कारण प्राथमिकता फेरबदल हुने बताएका छन्।

अघिल्लो वर्षका बजेटमा प्रदेश सरकारले कृषि, सडक, पर्यटन र पूर्वाधारलाई जोड दिएको थियो।

यस आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्