लकडाउनमा बिक्री घटेपछि बढ्यो इन्धनको मौज्दात
काठमाडौं। देश लकडाउनमा रहेको समयमा पेट्रोलियम पदार्थको बिक्री घटेपछि देशका अधिकांश भण्डारण केन्द्रहरू भरिएका छन्।

लकडाउनका कारण पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको बिक्री घटेपछि भण्डारण केन्द्र भरिएको नेपाल आयल निगमले जनाएको छ।

लकडाउनअघि दैनिक एक हजार ५०० देखि दुई हजार किलोलिटर पेट्रोल र चार हजार किलोलिटर डिजेल खपत हुन्थ्यो।

तर, लकडाउनको समयमा अधिकांश सवारीसाधन नचल्दा डिजेल र पेट्रोलको खपत घटेको छ।

हाल दैनिक ३०० किलोलिटर पेट्रोल र १४ किलोलिटर डिजेल खपत हुँदै आएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

यस्तै, लकडाउन अघि हवाई इन्धनको माग दैनिक अधिकतम एक हजार किलोलिटरसम्म थियो।

तर, लकडाउनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान पूर्णरूपमा ठप्प भएकाले बिक्रीसमेत शून्य जस्तै छ।

कति छ इन्धनको भण्डारण ?

निगमसँग हाल करीब ७१ हजार किलोलिटरको पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) भण्डारण गर्न सक्ने भण्डारण गृह छ।

तर, भण्डारण गरिएको पेट्रोलियम पदार्थको करीब १० प्रतिशत इन्धन वर्षभरि ट्यांकीमै मौज्दात राख्नुपर्छ र त्यसपछिको बाँकी पेट्रोलियम पदार्थ देशभर खपत हुँदै आएको छ।

जसमध्ये पेट्रोलको पाँच हजार १७५, डिजेलको ४२ हजार ३८५, मट्टितेलको १५ हजार ६१९ र  हवाई इन्धनको आठ हजार ४९५ किलोलिटर भण्डारण क्षमता छ।

भण्डारण क्षमताको ८४ प्रतिशत पेट्रोल, ८४ प्रतिशत डिजेल, ५५ प्रतिशत मट्टितेल र ९५ प्रतिशत हवाई इन्धन भरिएको प्रवक्ता उपाध्यायले जानकारी दिए। यसका अलावा अधिकांश ट्यांकर र पेट्रोल पम्पसमेत भरिएका छन्।

१४ हजार टन ग्यास मौज्दात

खाना पकाउने एलपी ग्यासको बिक्री घटेपछि यतिबेला उद्योगी/व्यवसायीसँग १४ हजार टनभन्दा बढी ग्यास मौज्दात भएको छ।

नेपालका ग्यास उद्योगहरुको भण्डारण क्षमता कुल सात हजार टन हो। उद्योगहरुको क्षमताअनुसार सबै उद्योगमा उक्त परिणामको ग्यास मौज्दात रहेको छ।

त्यसैगरी, अहिले झण्डै २०० वटा ग्यास बोक्ने बुलेटसमेत भरिएका छन्। भारतबाट नेपालमा ग्यास बोक्ने ती बुलेटमा सात हजार टन नै ग्यास रहेको नेपाल एलपी ग्यास उत्पादक संघले बताएको छ।

मौज्दात अवस्थामा रहेको १४ हजार टन ग्यासको बजार मूल्य अहिलेको अवस्थामा करीब एक अर्ब रूपैयाँ पर्छ ।

उद्योगमा र बुलेटमा रहेको मौज्दातबाहेक ग्यास बिक्रेतासँग समेत ग्यास मौज्दात रहेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए।

लकडाउनको शुरू हुँदा ग्यासको माग थाम्ने नसक्ने गरी बढेको भए पनि पछिल्लाे समय बिक्री घटेपछि ग्यासको मौज्दात बढ्दै गएको हो। माग धान्न सरकारले आधा सिलिण्डर मात्र ग्यास बेच्ने निर्णय गर्नुपरेको थियो।

यसका साथै काठमाडौं उपत्यकाका अधिकांश मानिस गाउँ फर्किएकाले र होटल तथा रेष्टुरेन्टहरु पूर्णरूपमा बन्द रहेकाले ग्यासको बिक्री घटेको भण्डारीको भनाइ छ।

पाइपलाइनबाट डिजेल आयात बन्द

पहिलाको तुलनामा डिजेलको खपत घटेपछि निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट डिजेल ल्याउन बन्द गरेको छ।

देशभरका अधिकांश भण्डारण केन्द्र र पेट्रोल पम्पको भण्डारण केन्द्र भरिएपछि पाइपलाइनबाट डिजेल ल्याउन बन्द गरिएको हो।

अमलेखगञ्जमा रहेका सबै भण्डारण ट्यांकीहरूमा तेल भरिएको कारणले तेल आयात तत्कालका लागि बन्द गरिएको निगमले बताएको छ।

मोतीहारी-अमलेखगञ्ज पाइपलाइनबाट प्रतिघन्टा एक लाख ८० लिटर तेल आयात गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्यो, नेपालमा घटेन

आयल निगमले खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ।

प्रत्येक १५/१५ दिनमा बिक्री मूल्य समायोजना गर्दै आएको निगमले यस महीना भने मूल्य समायोजना गरेन।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार मूल्य समायोजना गर्दै आएको छ।

इण्डियन आयल कर्पोरेसनले अन्तर्राष्ट्रिय बजार अनुसार नयाँ मूल्य पठाए पनि खपत घटेकाले मूल्य नघटाएको निगमका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रकुमार पौडेलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्