कानून कार्यान्वयनका लागि पूर्वाधार बनाऊः प्रधानन्यायाधीश
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बाल न्यायसम्बन्धी कानूनहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूको सक्षमता हुनुपर्ने बताएका छन्।
केन्द्रीय बाल न्याय समितिले आज ललितपुरमा गरेको एक कार्यक्रममा उनले बाल न्यायसम्बन्धी कानूनहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए।
प्रधानन्यायाधीश राणाले नेपालले प्रतिबद्धता गरेका बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूको सम्मान तथा नेपालको संविधानले प्रत्याभूति गरेको सो सम्बन्धी मौलिक हकहरूको प्रचलनका लागि समेत बाल न्यायसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने स्मरण गराए।
सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको पनि उनले जानकारी दिए।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारको संरक्षण र न्यायका लागि सरकार जस्तोसुकै कदम चाल्न पनि प्रतिबद्ध रहेको बताए।
उनले बालबालिकाहरूको उचित हेरचाह र शिक्षादीक्षाका लागि राज्यले चाल्नुपर्ने कदमका लागि आवश्यक सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्