कसरी चल्दै छन् देशभरका क्वारेन्टाइन ?
काठमाडौं। ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुलसहितको खाट, हावा छिर्ने कोठा। कोभिड-१९ रोगबाट जोगिन संक्रमणको खतरा हुन सक्ने व्यक्तिलाई राख्न बनाइने क्वारेन्टाइनको न्यूनतम व्यवस्था यस्तो हुनुपर्छ।

त्यसैगरी, नुहाउनका लागि पानीको व्यवथा, स्वास्थ्यकर्मी, २४ सै घण्टा सुरक्षाकर्मी (को निगरानी), स्वस्थ खाना र शुद्ध पिउने पानीको पनि व्यवस्था हुनुपर्ने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डले तोकेको न्यूननत शर्त हो।

वैशाख दोस्रो सातासम्म देशभर ३९ हजार ८२४ क्वारेन्टाइन बनेका छन्। तिनमा करिब १७ हजार व्यक्ति बसेका छन्।

सरकारले ती सबै क्वारेन्टाइन क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुसार नै रहेको दाबी गरेको छ।

कोरोना भाइरस संक्रमणबाट जोगिन देश लकडाउन गरिएको एक महिना नाघ्यो। लकडाउन लम्बिदैं गएपछि धेरैले यसलाई उल्लंघन गर्नथालेका छन्।

काम गर्ने ठाउँमा काम बन्द भएपछि र गुजाराकै समस्या भएपछि धेरैजसो व्यक्ति हिँडेरै घर जान थाले।

यो अवस्था रोक्न नसकिने भएपछि गाडीको व्यवस्था गरेरै घर पठाउन लागेको छ। मन्त्रीहरुले नै गाडीको व्यवस्था गरेर आ-आफ्नो जिल्लाका बासिन्दालाई पठाउन थाले।

त्यसरी जिल्ला पठाइएकालाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा राखेका छन्।

स्थानीय तहहरुले सीमित स्रोत साधनका बाबजुद क्वारेन्टाइनमा राखिनेहरुको व्यवस्थापन गर्दै आएका छन्।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले पछिल्लो समय जिल्लामा भित्रिएका १११ जनालाई दुई विद्यालयको क्वारेन्टाइनमा राखेको छ।

नगर प्रमुख गोबिन्दकुमार पुनले स्थानीय स्रोत साधनको प्रयोग गरेर बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको बताए।

क्वारेन्टाइनका लागि तोकिएको मापदण्ड भने नगरपालिकाले पूरा गर्न सकेको छैन। बरु, कोठाभित्र म्याट किनेर बिछ्याएको छ।

नगर प्रमुख पुनले भने, “सबै कुरा मापदण्ड अनुसार नै गर्न सकिँदैन। केही कुराको अभावकै बीच क्वारेन्टाइन बनाएर राखेका छौं।”

पाँचथरका विभिन्न क्षेत्रमा काठमाडौंबाट घर फर्किएका तीन सय बढीलाई क्वारेन्टाइनमा राखिएको छ।

निर्माण गरिएका क्वारेन्टाइनमा बेड संख्या कम भएकाले बाहिरबाट आएका विद्यार्थी र मजदूरलाई विद्यालयको भवनमा राखिएको छ।

सुत्केरी महिलासमेत चिसो भुँइमा बस्न बाध्य भएको, अरुलाइ समेत कोचेर राखिएको फिदिमका सजिब आङ्बोले बताए।

“जिल्लामा सबै व्यवस्था गरिएको छ भनेर हामीलाई काठमाडौंबाट पठाइयो । यहाँ आएपछि चिसो भुइँमा राखियो”, उनले भने।

जिल्लाको तयारीबिना काठमाडौंबाट धेरै मान्छे पठाइँदासमस्या भएको पाँचथरको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङ्देनले बताए।

“क्वारेन्टाइनको संख्या सिमित थियो। त्यसमा एकाएक थपिएपछि हामीले व्यवस्थापन गर्न सकेका छैनौं”, उनले भने।

रोल्पामा पनि ६ हजारबढी मानिस भित्रिएका छन्। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

उनीहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देखापढीलाई बताए।

क्वारेन्टाइनमा राख्न र उनीहरुको अवस्था बिग्रन नदिनेबारे सबै स्थानीय तहका पदाधिकारीसँग छलफल गरिएको उनको भनाई छ।

त्यस्तै ताप्लेजुङमा पनि स्थानीय स्रोत साधनको प्रयोग गरेर बनाइएको क्वारेन्टाइनमा साढे सात सयजनालाई राखिएको छ।

यसरी पठाउने हो भने व्यवस्थापन गर्न सकिन्न

गाउँपालिका महासंघका अध्यक्ष होमनाराण श्रेष्ठले स्थानीय तहसँग समन्वय नगरेरै बाहिरबाट जथाभावी पठाईंदा व्यवस्थापन गर्न समस्या भइरहेको बताए।

“धेरै स्थानीय तहले सिमित स्रोत साधनबाट बढीमा एक सय बेडसम्मका क्वारेन्टाइन निर्माण गरेका छन्। अहिले हजारको संख्यामा काठमाडौंलगायत अन्यत्र क्षेत्रबाट पठाउँदा कसरी व्यस्थापन गर्ने?”, उनले भने।

सरकारले एकातिर गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिने अर्कोतिर बजेट तथा आवश्यक स्रोत साधनको व्यवस्था नगरिदिँदा समस्या भइरहेको उनको भनाई छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्