रौतहटमा थप दुईजनामा कोरोना संक्रमण, जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने तयारी

काठमाडौं। रौतहटमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश २ मा खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले रौतहटका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाबको नमूना संकलन गरेर काठमाडौं ल्याएको थियो।

ती नमूनामध्येकै दुईजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले देखापढीलाई बताएको छ।

रौतहटको वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको आफूलाई जानकारी प्राप्त भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रनाथ पटेलले बताए।

वृन्दावन नगरपालिका-९ भुसहा र देवाही गोनाही नगरपालिका-१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

देवाही गोनाहीका ३५ वर्षीय पुरुष ४ वैशाखमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए।

“उनी भारतबाट घर फर्किएको सूचना आएपछि हामीले ६ गतेदेखि क्वारेन्टाइनमा राखेका थियौं”, नगर प्रमुख पटेलले देखापढीसँग भने,“काठमाडौंमा जाँच गर्दा संक्रमण देखिएको केहीबेरअघि जानकारी प्राप्त भएको छ।”

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका दुवैजनालाई उपचारका लागि धनुषास्थित जनकपुर प्रादेशिक अस्पतालमा लैजाने तयारी भइरहेको छ।

वृन्दावन नगरपालिकाका युवक पनि भारतबाट फर्किएका थिए।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवक भने निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्