डाेटीः राहत वितरणमा अनियमितता भएकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

डाेटी। राहत वितरणमा अनियमितता र पक्षपात गरेको आरोप लगाउँदै केआइसिंह गाउँपालिका-६ को भूमिराजमाण्डौंस्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

कोभिड-१९ को जोखिम हुन नदिन जारी लकडाउनबाट समस्यामा परेकालाई वडाले राहत वितरण गर्दै आएको छ।

दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण हुने भनिए तापनि सो वडामा पक्षपातपूर्ण व्यवहार गरेर आफन्त र हुनेखाने वर्गलाई मात्रै राहत वितरण गरेकाले तालाबन्दी गरेको स्थानीयवासी योगेन्द्र भट्टले बताए। उनले भने,“गरीब, विपन्न वर्ग छन् उनीहरूलाई नदिएर अरू हुनेखाने वर्गलाई राहत दिएका कारण तालाबन्दी गरिएको हो, गरीबले पाउने राहतमा धनीले किन खाने ?”

राहत वितरणमा अनियमिततासहित खासै राहत पाउनुपर्ने गरिब र विपन्न वर्गले राहत नपाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेको खबर आफूले पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। उनले भने, “विपन्न परिवारले राहत नपाएको भन्दै केही व्यक्तिले वडा कार्यालयमा तालाबन्दी गरेको खबर पाएको छु, खास के भएको हो सो विषयमा बुझ्न कर्मचारी खटाएको छु बाँकी खबर त्यसपछि भन्न सकिन्छ।”

राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने विषयमा गाउँपालिका स्पष्ट रहेको अध्यक्ष शाहीको भनाइ छ।

विपन्न परिवारलाई समेटेर राहत नदिएसम्म तालाबन्दी नखोल्ने तालाबन्दी गर्नेहरूको माग रहेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्