नेकपामा सांसदहरूको हस्ताक्षर जुटाउन थालिएपछि असन्तुष्टि
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले सांसदहरुको हस्ताक्षर अभियान शुरु गरेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले हस्ताक्षर अभियान चलाएपछि उनीहरुपक्षकै कतिपय नेता असन्तुष्ट बनेका छन्। स्थायी समिति सदस्य टोपबहादर रायमाझीले यो अभियानको विरोध गर्दै यसले पार्टीलाई बिभाजनतिर लैजाने बताएका छन्।

पार्टीका प्रमुख नेताहरूबीचको विवाद झेलिरहेको नेकपामा शुरू भएको हस्ताक्षर अभियानले नयाँ विवाद सिर्जना भएको छ। प्रयोजन नखुलाइ आफू पक्षधर मानिएका सांसदहरूको हस्ताक्षर संकलन शुरू गरिएपछि पूर्वमाओवादीबाट नेकपामा आएका स्थायी समिति सदस्य रायमाझीले त्यसमो आफ्नो असहमति रहेको बताएका हुन्।

“सरकार र पार्टी चलाउने विषयमा प्रशस्त समस्याहरू छन्,” रायमाझीले भने, “पार्टीको बैठक बसेर ती समस्याको निकास खोज्नुपर्छ। तर सांसदहरूको हस्ताक्षर अभियान ठिक भएन।” नेकपामा अध्यक्ष दाहाल निकट भनेर चिनिएका नेता रायमाझीले अभियानप्रति असहमति राखेका हुन्। यसले शक्ति संघर्ष चलिरहेको नेकपामा परम्परागत गुट कायम नरहन सक्ने देखाएको छ।

पार्टी र सरकार चलाउने विषयमा देखिएका समस्याबारे छलफल गर्न आफूसहितका नेताहरूले स्थायी कमिटी बैठक माग गर्दै हस्ताक्षर दिएको भए पनि सांसदको हस्ताक्षर अभियान उचित नभएको उनले बताए।

“पार्टीको बैठक आवश्यक छ। त्यसका लागि हामीले हस्ताक्षर गरेका थियौं। तर, अहिले आएर सांसदहरूको हस्ताक्षर संकलन गरिएको मैले सुनें, त्यो ठिक भएन”, देखापढीसँग कुरा गर्दै नेता रायमाझीले भने, “कुन पक्षले के उद्देश्य वा प्रयोजनले संकलन शुरू गरेको हो मलाई थाहा भएन। तर अहिलेको अवस्थामा सांसदहरूको हस्ताक्षरले पार्टीलाई बिभाजनतिर लैजान्छ। पार्टीलाई इन्ट्याक्ट राख्न मद्दत गर्दैन।”

नेकपा नेताहरु दीनानाथ शर्मा, प्रभू साहलगायतले समेत हस्ताक्षर अभियानमा असहमति जनाएका छन्। नेकपाका एक नेताले पार्टीको संसदीय दलमा प्रधानमन्त्री ओलीलाई अल्पमतमा परेको देखाउन हस्ताक्षर अभियान शुरु गरिएको बताए।

"पार्टीको बैठक बोलाएर प्रधानमन्त्री र सरकारका कामबारे छलफल गर्नु बेग्लै कुरा हो," उनले भने, "यो त सरासर प्रधानमन्त्रीलाई हटाउन खोज्ने उद्धेश्य देखियो, यसले कसैलाई राम्रो गर्दैन।" ती नेताले हस्ताक्षर अभियान स्थायी समिति सदस्यहरु जनार्दन शर्मा र सुरेन्द्र पाण्डेले संयोजन गरिरहेकोसमेत बताए।

यो अभियानकै कारण आज बस्ने भनिएको नकपा सचिवालयको बैठक अनिश्चित बनेको छ। हिंजो कोटेश्वरस्थित नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको ओली र नेपाल पक्षधर नेताहरुबीचको बैठकमा आज सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी बनेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्