लकडाउनकाे एक महीनामा साढे चार हजार कन्टेनर सामान भैरहवा हुँदै नेपाल भित्रिए
बुटवल। बन्दाबन्दी शुरू भएपछि भैरहवा भन्सार कार्यालय हुँदै चार हजार ५६२ कन्टेनर सामान भारतबाट नेपाल भित्रिएका छन्।

११ चैतदेखि ११ वैशाखसम्म (३१ दिन) साे संख्यामा कन्टेनरहरू भित्रिएका हुन्।

भारतबाट दैनिकरूपमा खाद्यान्न तथा हरियो तरकारी नेपाल भित्रिने क्रम पहिलेभन्दा बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

विशेषगरी एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलु, प्याज र तरकारी तथा फलफूल बोकेर आउने कन्टेनर बढी आएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए।

गत आर्थिक वर्ष २०७५/०७६ को यही अवधि ११ चैतदेखि ११ वैशाखसम्म त्यस्तो कन्टेनर संख्या तीन हजार ७५७ रहेको भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले जानकारी दिए।

बन्दाबन्दीपछि राहत वितरण तीव्र हुनु र मानिसमा सामान किनेर भण्डार गर्ने प्रवृत्तिका कारण मागअनुसार भारतीय कन्टेनर खाद्यान्न तथा हरियो तरकारी बोकेर नेपाल आएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले बताए।

लकडाउनपछि भारतीय तरकारी र खाद्यान्नको माग बढी हुनु तथा नेपालभित्र उत्पादित कृषि वस्तु बजारसम्म पुग्न कठिन भएकाले पनि बढी आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्