महामारीका कारण राेकियाे विकिलिक्सका संस्थापक असान्जकाे सुनुवाइ

लन्डन। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाइ आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ।

असान्जका वकीलहरूले कोभिड-१९ महामारीका बीच सुनुवाइ कार्य अघि बढाउनु 'स्वास्थ्यका कारण खतरा' रहेको दाबी गरेका थिए।

असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी १८ मे मा सुनुवाइ आरम्भ गर्ने योजना थियो।

स्वीडेनमा असान्जमाथि यौन दुर्व्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ। अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ।

बेलायतका न्यायाधीश भानिसा बाराइजरका अनुसार छिटोमा आगामी २ नोभेम्बरदेखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाइ हुनेछ। यो सुनुवाइ करीब तीन साताको हुनेछ।

असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो। अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै आठ वर्षदेखि आश्रय लिएका थिए।

विकिलिक्सका संस्थापक असान्जले अमेरिकाविरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका छन्। रासस–एएनआई

प्रतिक्रिया दिनुहोस्