प्रिमियर लिग ८ जुनदेखि शुरू गर्ने तयारी

काठमाडौं। इंग्लिस प्रिमियर लिग जुन दोस्रो सातादेखि शुरू गर्ने तयारी गरिएको छ।

प्रिमियर लिगका क्लब आर्सनल, ब्राइटन र वेष्‍ट ह्यामले सोमबारदेखि खेलाडीलाई व्यक्तिगत प्रशिक्षण गराएका छन्। युईएफएको युरोपियन क्लब फुटबल प्रतियोगितासँग मेल खाने गरी प्रिमियर लिग ८ जुनदेखि शुरू गरेर जुलाईको अन्त्यसम्म सक्ने तयारी गरिएको छ। खेलाडीहरूले पूर्ण रूपमा प्रशिक्षण भने १८ मेबाट गर्ने बीबीसीले जनाएको छ।

शीर्ष क्लबहरू लिग शुरू गर्ने विकल्पबारे शुक्रबार छलफलका लागि जुट्दैछन्।

बेलायतका संस्कृति सचिव ओलिभर डोउडेनले चाँडोभन्दा चाँडो प्रिमियर लिग शुरू गर्न आफूले क्लबहरूसँग छलफल गरिरहेको बताएका छन्।

‘‘व्यक्तिगत रूपमा मैले प्रिमियर लिगसँग कुरा गरिरहेको छु। फुटबल समर्थकहरूको चाहनाअनुसार चाँडोभन्दा चाँडो फुटबल शुरू गर्न हामीले छलफल गरिरहेका छौं,’’ डोउडेनले डिजिटल, संस्कृति, सञ्‍चार तथा खेलकुद विभागको संसदीय सुनुवाइमा भनेका छन्, ‘‘तर यी सबै कदम चाल्नुअघि हामीले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेका छौं।’’

मंगलबारदेखि टोटेनह्यामले पनि खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि मैदान उपलब्ध गराउने भएको छ। मैदानमा एक समयमा एक खेलाडीलाई मात्र प्रवेश अनुमति दिइएको छ र प्रत्येक खेलाडी ट्रेनिङ मैदानमा आफैं पुग्‍नुपर्नेछ।

कोभिड-१९ का कारण प्रिमियर लिग १३ मार्चदेखि स्थगित छ। लिगमा अझै ९२ खेल बाँकी छन्। बाँकी खेल खाली रंगशालामा खेलाइने सम्भावना बढी छ। बेलयातमा कोरोना भाइरस संक्रमणका कारण २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

जर्मन बुन्डेसलिगा पनि सरकारको अनुमति पाए ९ मेदेखि शुरू गर्न तयार रहेको बताइएको छ। त्यस्तै इटालियन सिरी ‘ए’ मा पनि ४ मेदेखि व्यक्तिगत तथा १८ मेदेखि सामुहिक प्रशिक्षण गर्ने दिइने भएको छ।

प्रतिक्रिया दिनुहोस्